निजी विद्यालयको सेटिङमा एसइईको प्रश्न पत्र बाहिरिएको दाबी

सिरहा । सिरहामा माध्यमिक शिक्षा परीक्षा (एसइई) को पहिलो दिनको परीक्षा सुरु भएको २० मिनेटमा प्रश्नपत्र बाहिरिएको छ । पहिलो दिनको अंग्रेजी विषयको प्रश्न जिल्लाको लहान– १९ सोनमती गाढा, जनता बनवाली माध्यमिक विद्यालय वर्छवा, कल्याणपुर परीक्षा केन्द्रबाट प्रश्नपत्र बाहिरिएको बताइएको छ ।
निजी विद्यालयहरुको सेटिङमा केन्द्राध्यक्ष र प्रहरी प्रशासनको सहयोगमा मोबाइल प्रयोग गरी प्रश्नपत्र बाहिरिएको स्रोतले जनाएको छ । जिल्ला परीक्षा समन्वय समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारीे बासुदेव दाहालले एसइई परिक्षा मर्यादित बनाउन ५० जना डेडिकेटेड मानिसहरु खटाएका बताए । उनले भने, ‘पात समेत हल्लिन दिएको छैन । प्रश्नपत्र कसरी बाहिरियो भन्ने बारे अनुसन्धान हुँदैछ । कहाँबाट प्रश्नपत्र बाहिरिएको हो, पत्ता लागे कारबाही हुन्छ ।’
परीक्षा मर्यादित बनाउन यस वर्ष परीक्षा केन्द्रहरुमा मोवाइल तथा अन्य चिटिङ गर्ने समानमा प्रतिबन्ध लगाए तापनि प्रश्नपत्र आउट हुँदा प्रहरी प्रशासन र केन्द्राध्यक्षहरुकै सेटिङ रहेको पुष्टि गरेको स्थानीयको आरोप छ । जिल्लामा ५० वटा परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भईरहेको छ । यस वर्षको परीक्षामा १० हजार सात सय तीन जना विद्यार्थी सहभागी छन् ।