भन्न नमिल्ने, मुलुकमा सुशासन पटक्कै छैन : शेखर कोइराला

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली नेताले गिरिजाप्रसाद कोइरालाबाट फिटिक्कै नसिकेको टिप्पणी गरेका छन् । गिरिजाप्रसाद कोइरालाको १५ औं स्मृति दिवसका अवसरमा बिहीबार आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘आज तपाईहरूले जुन परिदृश्य देखिरहनु भएको छ, स्थिति भयावह छ । मैले त्यही देखेको छु । अहिले गिरिजाप्रसाद कोइराला भएको भए के हुन्थ्यो त भन्ने तपाईहरूको मनमा होला,’ नेता कोइरालाले भने, ‘जस्तो ०४८ सालमा निजीकरण र स्वतन्त्रता उहाँ प्रधानमन्त्री हुँदा महेश आचार्य र रामशरण महतहरूले ल्याउनुभयो, त्यो कुरा अहिले अगाडि बढाउनु हुन्थ्यो । सुशासनमा कडाइ गर्नुहुन्थ्यो, भ्रष्टाचारका मुद्दामा नो मोलाहिजा भन्नु हुन्थ्यो । त्यसरी जानुहुन्थ्यो भन्ने मलाई लाग्छ।’
जीवनको अन्तिम समयमा गिरिजाप्रसाद देशको अवस्थाप्रति चिन्तित रहेको आफूले पाएको उनले बताएका छन् । ‘उहाँ बितेको पनि १५ वर्ष भइसक्यो हेर्नुस् त । हामीहरूले उहाँबाट पाठै सिकेनौं । नेताहरूले केही सिक्दै सिकेनौं जस्तो भयो। केही न केही त हामीले गर्नुपथ्र्यो नि,’ कोइरालाले भने ।
अहिले पनि कांग्रेस सरकारमा रहेको बताउँदै उनले एमाले र कांग्रेसले सुशासनको कुरा मात्रै भए पनि अगाडि बढाउनु पर्ने बताए । ‘भन्न त हुँदैन, सुशासन पटक्कै छैन भने पनि हुन्छ । उहाँहरूलाई मन लाग्यो एक, दुई, तीन लिस्ट आउँछ,’ उनले भने, ‘मन्त्रिपरिषदमा आउँछ । उहाँहरूलाई मन लाग्यो तेस्रो नम्बरलाई लिनुहुन्छ । अनि आफूलाई चित्त परेको छ भने एक नम्बरलाई हाल्दिनु हुन्छ । सुशासन पटक्कै छैन । यो कुरा भन्ने कि नभन्ने ।’
आफू यो कुरा पटक–पटक के भनिरहेको पनि शेखरले बताए । ‘नेपाली कांग्रेस हामी सत्ता पक्षका मानिस हौँ, तर हामी सरकारमा छैनौँ, यहाँ बसेका हामी कोही पनि सरकारमा छैनौं । सरकारमा भएका मन्त्रीले एमालेसँग सहकार्य गर्नुहोस्, यो संविधान नै यस्तो छौं । जो सरकारमा छैनौँ खबरदारी गर्ने जिम्मेवारी हाम्रो हो,’ उनले भने ।