रुस र युक्रेनबीच ‘ब्ल्याक सी’ र ऊर्जा लक्ष्यमा आक्रमण नगर्ने सहमति

काठमाडौं । रुस र युक्रेनबीच ब्ल्याक सीमा पानीजहाजको सुरक्षित आवतजावत र सैन्य आक्रमण रोक्ने सहमति भएको छ । यससँगै दुवै देशले एकअर्काको ऊर्जा आधारमा हुने आक्रमण रोक्न उपायहरू विकास गर्नेछन् । ह्वाइट हाउसले एक विज्ञप्ति जारी गर्दै दुवै देश ब्ल्याक सी क्षेत्रमा पानीजहाजको सुरक्षित आवतजावत सुनिश्चित गर्न, बल प्रयोग रोक्न र सैन्य उद्देश्यका लागि व्यावसायिक जहाजको प्रयोग रोक्न सहमत भएका छन् ।
हालै अमेरिकाले रुस र युक्रेनका अधिकारीहरूसँग रुस–युक्रेन युद्धका विषयमा छुट्टाछुट्टै वार्ता गरेको थियो । यी दुवै वार्तामा भएका निर्णयबारे अमेरिकाले विज्ञप्ति जारी गरी जानकारी दिएको हो । अमेरिकाले रुस र युक्रेन दुवै व्यापारिक जहाजको सुरक्षित आवतजावत सुनिश्चित गर्न र ‘ब्ल्याक सी’मा सैन्य आक्रमण रोक्न सहमत भएको बताएको छ ।
अमेरिकाले दुवै देशले युद्धबन्दीको आदानप्रदान, पक्राउ परेका नागरिकको रिहाइ र जबरजस्ती रुसमा लगिएका युक्रेनी बालबालिकालाई फिर्ता गराउन सहयोग गर्ने बताएको छ । अमेरिकाले आफ्नो विज्ञप्तिमा रसियालाई कृषि उत्पादन र मलको निर्यातमा सहयोग गर्ने र बन्दरगाहमा रुसको पहुँचलाई सहज बनाउने बताएको छ ।
अमेरिकाले युक्रेन र रुससँग छुट्टाछुट्टै सम्झौता गरेको छ । सोमबार साउदी अरेबियाको रियादमा अमेरिका र रुसबीच १२ घण्टाभन्दा बढी समय वार्ता भएको थियो । युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले ब्ल्याक सी र उर्जा लक्ष्यमा आक्रमण नगर्ने युद्धविराम तत्कालै लागू भएको बताएका छन् । यदि रुसले यो सम्झौता तोड्यो भने उसले राष्ट्रपति ट्रम्पसँग रुसमाथि थप प्रतिबन्ध लगाउन माग गर्ने उनले बताए ।
रुसी राष्ट्रपति कार्यालय क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले अहिले रुस, युक्रेन र अमेरिकाबीच त्रिपक्षीय बैठक गर्ने योजना नरहेको बताए । विगत दुई महिनादेखि चलिरहेको युद्धविराम वार्ताका क्रममा रुस र युक्रेनले गत हप्ता एक अर्काका कब्जामा लिएका सैनिक आदानप्रदान गरेका थिए । दुईबीच १७५ कैदी आदानप्रदान भएको थियो । यसबाहेक रुसले गम्भीर घाइते २२ युक्रेनी सैनिकलाई पनि रिहा गरेको छ । एजेन्सी