त्रिचन्द्रको स्ववियु चुनाव फेरि स्थगित

काठमाडौं । काठमाडौंको त्रिचन्द्र क्याम्पसमा फेरि स्ववियु चुनाव स्थगित भएको छ । ५ चैतमा चुनाव हुन नसकेपछि १३ गतेका लागि तोकिएको थियो । तर विद्यार्थीको तालाबन्दीका कारण स्थगित गरिएको निर्वाचन समितिले जनाएको छ ।
‘मतदानका लागि वातावरण सहज नदेखिएको र केही विद्यार्थीले क्याम्पसको मुख्य द्वारमा पुनः तालाबन्दी गरेकाले’ अनिश्चितकालका लागि निर्वाचन स्थगित गरिएको निर्वाचन समितिले मंगलबार राति जारी गरेको सूचनामा उल्लेख छ ।
‘त्रिवि. केन्द्रीय कार्यालय तथा अन्य सम्बद्ध पक्षसँगको परामर्शपछि मतदानको मिति र समय तोकी अर्को सूचना प्रकाशन गर्ने गरी चैत्र १३ मा तोकिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मतदान कार्य स्थगित गरिएको छ,’ समितिले जारी गरेको सूचनामा लेखिएको छ ।
निर्वाचनको सम्पूर्ण तयारी हुँदाहुँदै पनि तालाबन्दीका कारण स्थगित गर्नुपरेको निर्वाचन अधिकृत डा. अङ्गदमणि गौतमले जारी गरेको सूचनामा उल्लेख छ । त्रिचन्द्रको स्ववियु अध्यक्षका लागि नौं जनाको उम्मेदवारी परेको छ ।