धर्मगुरु पुष्कर खतिवडाकोमा स्याउ–केरा खाएर कता भागे दुर्गा प्रसाई ?


२०८१ चैत १६ शनिबार ००:५९ बजे

काठमाडौं । काठमाडौं तीनकुनेमा शुक्रबार भएको हिंसात्मक राजावादी प्रदर्शनपछि भागेका दुर्गा प्रसाई इमाडोलमा धर्मगुरु पुष्कर खतिवडाको घरमा बसेको खुलेको छ। विवास्पद धर्मगुरु खतिवडाको घरमा उनी केही समय बसेको पाइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर, ललितपुरका प्रमुख एसएसपी श्यामकृष्ण अधिकारीका अनुसार, इमाडोलबाट खतिवडालाई प्रहरीले शनिबार बिहान पक्राउ गरेर ल्याएको थियो । शुक्रबार भएको हिंसात्मक प्रदर्शनका जनकमाण्डर प्रसाईंलाई प्रहरीले खोजिरहेको छ ।

उनको खोजी गर्न प्रहरीले विभिन्न युनिट परिचालन गरेको छ । तर उनी फेला परेका छैनन् । यद्यपि शुक्रबार तीनकुनेबाट फरार हुनुअघि प्रसाईं धर्मगुरू खतिवडासँगै भागेको खुलेको छ । जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीका अनुसार कार्यक्रमस्थलबाट प्रसाईं खतिवडासँगै निस्किएका थिए । इमाडोलस्थित घरमा केहीबेर बसेर प्रसाईं त्यहाँबाट पनि फरार भएका हुन् ।

‘दुबै जना सँगै इमाडोल आएका रहेछन् । केहीबेरमा निस्किएको भन्ने छ,’ उनले भने, ‘एउटा स्याउ र केरा खाएर निस्किएका रहेछन् ।’ प्रहरीका अनुसार उनको मोबाइल अफ छ । मोबाइलको अन्तिम लोकेशन गैरीगाउँ देखिएको थियो ।

उनले आफूलाई जहाँ बोलाए पनि हाजिर हुन तयार हुने भन्दै सामाजिक सञ्जालमा लेखेका थिए । तर अहिले सम्पर्कविहीन भएका हुन् । प्रहरीले अहिले तीनकुनेमा राजावादी आन्दोलनमा सहभागी भएका नेताहरूलाई पक्राउ गरिरहेको छ । रवीन्द्र मिश्र, धवलशमशेर राणा, स्वागत नेपाल लगायतलाई पक्राउ परिसकेका छन्। उनीहरूमाथि प्रहरीले मुद्दा चलाउने तयारी गरेको छ । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७