स्ववियु निर्वाचन : मणिलेकमा नेविसंघको प्यानलै विजयी

बैतडी । सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत मणिलेक बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेविसंघको प्यानलै विजयी भएको छ । अनेरास्ववियु र अखिल क्रान्तिकारीका उम्मेदवारलाई पराजित गर्दै नेविसंघका उम्मेदवार विजयी भएका हुन्।
सभापतिमा नेविसंघका मनोजदत्त ओझा विजयी भए । उनले ४८ मत प्राप्त गरे । उनका प्रतिद्वन्द्वी अनेरास्ववियुका सरोज भट्टले ३७ मत र अखिल क्रान्तिकारीकी कल्पना भट्टले २१ मत प्राप्त गरे ।
सचिवमा दर्शन नेगी, कोषाध्यक्षमा पुजा चन्द विजयी भएका छन् । योसँगै मणिलेक बहुमुखी क्याम्पसमा नेविसंघले तेस्रो पटक स्ववियू निर्वाचनमा जित हासिल गरेको हो । एक सय २५ मतदाता रहेको क्याम्पसमा एक सय ११ मत खसेको निर्वाचन अधिकृत भवानी सिंह नायकले बताए ।