संविधान पुनरावलोकनमा ढिलाइ भए सडक अझै आक्रोशित हुन्छ : शेखर कोइराला

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले संविधान पुनरावलोकनमा ढिलाइ भए सडक अझै आक्रोशित हुने बताएका छन् । आज (शनिबार) काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
कोइरालाले राजनीतिमा अहिले धेरै कुराहरू रहेको भए पनि सरकारले विशेष ध्यान दिएर अघि बढ्नुपर्ने सुझाव दिए । उनले अहिले कांग्रेस र एमाले सम्मिलित सरकार रहेकाले सरकारका काम कारबाहीमा कांग्रेसले खबरदारी गर्नुपर्ने बताए ।
एमाले नेपाली कांग्रेसका लागि भविष्यको पनि प्रतिष्पर्धी भएकाले सोचेर अघि बढ्न जरुरी रहेको बताए । संविधान पुनरावलोकन, सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रण गर्न नसके जनता अझै आक्रोशित हुने बताउँदै दण्डहिनता दिनप्रतिदिन बढिरहेको उल्लेख गरे । सांसद कोइरालाले अमेरिकाको ट्यारिफ नीति तेस्रो विश्वयुद्ध भन्दा पनि ठूलो हुने खतरा रहेको जिकिर गरे । सुलभ स्वास्थ्य कसरी दिने भन्नेबारेमा नेपालीले सोच्नुपर्ने बताए । नेपाल आफ्नै खुट्टामा उभिन सक्छ भन्ने सोच राखेर अघि बढ्न जरुरी रहेको बताए ।