बंगुर पालेर स्वरोजगार र आत्मनिर्भर


२०८२ बैशाख १३ शुक्रबार १४:१६ बजे

म्याग्दी । बंगुरपालन गरेका म्याग्दीका एक युवाले निरन्तर मेहनत गर्ने हो भने देशमै स्वरोजगार र आत्मनिर्भर बन्न सकिने सन्देश दिएका छन् ।

म्ंगला गाउँपालिका–५ हाडेभिरका २५ वर्षीय विमल सापकोटा व्यावसायिक बंगुरपालनबाट स्वरोजगार र आत्मनिर्भर बनेका हुन् । ‘कुखुरापालनमा असफल भएपछि चार वर्षअघि रु १५ लाख लगानीमा बिएनबी कृषि तथा पशुपंक्षी फार्म खोलेर बंगुर र बाख्रापालन सुरु गरेको थिएँ’, उनले भने, ‘कुखुरामा डुबेको थिएँ, बंगुर पालेर उठे ।’

उनको फार्ममा हाल ५० वटा बंगुर र २० वटा बाख्रा छन् । मासु र पाठापाठीका लागि ल्याडरेस जातका बंगुर पालेका छन् । फार्ममा जमुनापारी र खरी जातका बाख्रा छन् । सापकोटाले प्रतिकिलो रु छ सयका दरले मासिक छ हजारदेखि सात हजार किलोग्राम बंगुरको मासु र प्रतिगोटा रु सात हजारका दरले वार्षिक तीन सय बंगुरका पाठापाठी बिक्री हुने बताए ।

मासुको बिक्री गर्न सापकोटाले मंगला गाउँपालिका–२ बाबियाचौरमा मासु पसल पनि सञ्चालन गरेका छन् । बाबियाचौरका साथै मुस्ताङका होटलमा बंगुरको मासु खपत हुने गरेको छ । फार्ममा विमलसहित परिवारका थप चार जना सदस्यले रोजगारी पाएका छन् । बुबा तारानाथ सापकोटा, आमा चित्रकला र श्रीमती सुकमायाले विमललाई बंगुरपालनमा सघाउँछन् । ‘छिमेकी र आफन्तले बाहुनले बंगुर पाल्न हुँदैन भनेर सुझाएका थिए’, तारानाथले भने, ‘पहिले बंगुर नपाल्न सुझाव दिनेहरू अहिले व्यापार देखेर छक्क पर्छन् ।’

सापकोटाको बंगुर फार्म व्यवस्थित र सफा छ । माउ, भाले, पाठापाठी राख्ने फरकफरक कोठा छन् । रोगबाट बचाउन फार्मको नियमित सरसफाइ गर्छन् । फार्मको फोहरलाई सुरक्षित रूपमा व्यवस्थापन गरिएको छ । सो फार्ममा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सहयोगमा जिल्लामै पहिलो पटक गत चैतमा उच्च नश्लको कम बोसो भएको अमेरिकन नश्लको शुद्ध बंगुरको ताजा बीर्यबाट कृत्रिम गर्भाधान गरिएको थियो । परियोजनाका साथै भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र मङ्गला गाउँपालिकाको पशु सेवा शाखाले प्राविधिक सहयोग गरेका छन् ।

सापकोटाको अनुभवमा महामारीजन्य रोगबाट बचाउनु बंगुरपालनको प्रमुख चुनौती हो । दाना आयात गरेर खुवाउनुपर्दा आम्दानीको ठूलो हिस्सा दानामा खर्च हुने गर्छ । बंगुरका पाठापाठी र मासुको माग बढेकाले फार्मको क्षमता विस्तार गर्ने उनको योजना छ । ‘घरव्यवहार र परिस्थितिका कारण कक्षा १० पढेपछि व्यवसायमा जोडिएको थिएँ’, उनले भने, ‘विदेश जाने योजना बनाएको छैन । स्वदेशमै व्यवसायलाई निरन्तरता दिन्छु । बंगुरपालनबाट सन्तुष्ट छु ।’
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७