प्रधानमन्त्रीबाटै शिक्षकप्रति दमनको भाषा बोलियो : वर्षमान पुन

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं सांसद् वर्षमान पुनले जारी शिक्षक आन्दोलन समाधान गर्नुको साटो सरकार दमनमा उत्रिएको भन्दै आपत्ति जनाएका छन् । आज (सोमबार) प्रतिनिधिसभाको शून्य समयमा बोल्दै पुनले शिक्षकका माग सुन्नुको साटो सरकारले दमनको भाषा बोलेको बताए । आन्दोलनरत शिक्षक र प्रहरीबीच आइतबार बानेश्वर क्षेत्रमा झडप भएको थियो। प्रहरीले पानीको फोहोरा र लाठी चार्ज गर्दा एक सञ्चारकर्मीसहित ६० बढी शिक्षक घाइते भएका थिए ।
पुनले विगतमा सरकारसँग तीन चरणमा भएका सहमति पालना गर्न सरकारको ध्यानाकर्षण गराए । ‘करिब एक महिनादेखि पेसागत माग राखेर शिक्षकहरू सडक आन्दोलनमा छन् । विगतमा तीन चरणमा भएका सहमति पालना गर्नुको सट्टा सरकारले दमनको भाषा बोलेको छ,’ पुनले भने, ‘यसको म निन्दा र भत्र्सना गर्दछु।’
लोकतन्त्रमा जनताका आवाज र असन्तुष्टिको समाधान वार्ता र संवादबाट खोजिनु पर्नेमा प्रधानमन्त्री केपी ओलीले नै बल प्रयोग र हठ प्रदर्शन गरेको टिप्पणी उनको थियो । ‘लोकतन्त्रमा जनताका असन्तुष्टि र मागको सम्बोधन संवादबाट हुनुपर्ने हो,’ उनले भने, ‘सम्माननीय प्रधानमन्त्री नै शिक्षकहरूप्रति बल प्रयोग र हठको भाषा बोलिरहनु भएको छ ।’ पुनले तत्काल वार्ता गरी शिक्षकहरूका जायज माग सम्बोधन गर्न आफ्नो दलका तर्फबाट माग गरेका छन् ।