ओडिसा लागे प्रिशाका बुवा र आफन्त

काठमाडौं । भारतको ओडिसास्थित केआईआईटी युनिभर्सिटीमा छोरी प्रिशा साह मृत भेटिएको खबरपछि नेपाल वीरगञ्जमा रहेका उनका बुबासहित परिवार राति नै भारततर्फ लागेका छन्।सर्लाहीको मलंगवा घर भई हाल वीरगज महानगरपालिका–१५ मा बस्दै आएका श्याम साह भारतमा बीटेक सिएसईको पहिलो वर्षमा अध्ययनरत छोरी प्रिशाको मृत्युुको खबर पाएपछि त्यसतर्फ लागेका हुन् । प्रिशाको मृत्युको खबर उनकै भाइ गौरवले बिहीबार राति फोन गरेर बुवा श्यामलाई जानकारी गराएका थिए । घटनाबारे थाहा पाएपछि प्रिशाका परिवार भारततिर लागेका हुन् ।
मृतक प्रिशाका बुवा श्याम राति आफूहरुको सम्पर्कमा आएको र ओडिसा कसरी पुग्ने भन्नेमा अन्योल भएकाले सल्लाह दिएको जानकारी दिंदै पर्साका एसपी गौतम मिश्रले भने, ‘सायद राति नै उहाँ उतातिर लाग्नुभयो । अहिले सम्पर्क गर्दा हुन सकेको छैन । सम्पर्क नहुनुले पनि उहाँ भारतीय लागेको हुनुपर्छ ।’ उनका अनुसार बिहीबार दिउँसो ३ बजेतिर प्रिशाले आफू मे १८ तारिखमा बिदामा घर आउने भन्दै फोन गरेकी थिइन् । यो कुरा उनका भाइ गौरवले जानकारी गराएको एसपी मिश्रले बताए ।
उनले भने, ‘प्रिशाको बुवा भिस्वामा बस्छन् । दुई तल्ले घर छ । आज घरमा कोही छैनन् । मलाई लाग्छ–उहाँहरू भारततिर लाग्नुभयो।’ प्रिशा एक वर्ष अगाडि मात्रै अध्ययनका लागि सो विश्वविद्यालय गएकी थिइन् । उनी होस्टेलमा झुण्डिएको अवस्थामा मृत फेला परे पनि उनको मृत्यु रहस्यपूर्ण रहेको सो कलेजमा अध्ययनरत नेपाली विद्यार्थीहरू बताउँछन् । प्रिशा महिलामाथि हुने हिंसाविरुद्ध जहिल्यै आवाज उठाउने गर्थिन् । एक महिना अगाडि मात्रै उनी वीरगजमा महिला हिंसाविरुद्ध प्रदर्शनमा सहभागी भएको तस्वीर समेत सार्वजनिक भएको छ। सिरहा नवराजपुरकी बलात्कृत किशोरी रिंकू सदाय मृत फेला परेपछि घटनामा संलग्नहरूमाथि कारबाहीको माग गर्दै वीरगजमा प्रदर्शन भएको थियो । उक्त प्रदर्शनमा प्रिशा पनि सहभागी थिइन् ।
प्रिशाको मृत्यरबारे के भन्छ ओडिशा प्रहरी ?
भारतको भुवनेश्वरको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) को होस्टलमा एक नेपाली विद्यार्थी मृत फेला परेको ओडिशा प्रहरीले जनाएको छ। भुवनेश्वरका प्रहरी आयुक्त एस. देवदत्त सिंहले बिहीबार साँझ ७ बजेतिर प्रिशा साहको शव होस्टेलको कोठामा फेला परेको बताएका छन् । उनले भने, ‘फोरेन्सिक र प्रहरी टोली तुरुन्तै घटनास्थलमा पुगेको थियो र घटनामा अप्राकृतिक मृत्युको मुद्दा दर्ता गरिएको छ ।’
प्रहरी आयुक्तले घटनाको बारेमा विद्यार्थीका अभिभावक र नेपाली दूतावासलाई जानकारी गराइएको बताए । उनले यस विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको बताए । भारतका लागि नेपालका राजदूत डा. शंकर पी शर्माले प्रिशा साहको निधनमा शोक व्यक्त गरेका छन् । यसअघि फेब्रुअरी १६, २०२५ मा सोही संस्थानकी नेपाली विद्यार्थी प्रकृति लम्साल पनि होस्टेलमा मृत फेला परेकी थिइन्।