बिजुलीको पोल भाँच्दै ललितपुरमा भयानक कार दुर्घटना

ललितपुर । ललितपुरको सातदोबाटो–हात्तीवन ओरालोमा ११ हजार भोल्टको करेन्ट बग्ने बिजुलीको पोलमा कार ठोक्किएर भयानक दुर्घटना भएको छ। आइतबार राति सवा ११ बजे आसपास बा १५ च ७६५२ नम्बरको बिजुलीको पोलमा ठोक्किएको हो । कारको ठक्करबाट बिजुलीको पोल भाँचिएर बीच सडकमा पुगेको छ । जसका कारण त्यस क्षेत्रको यातायात आवागमन बन्द गरिएको छ ।
पोलमा ठोक्किएको कारमा सवार तीन जना घाइते भएर बीएण्डबी अस्पताल पठाइएको प्रहरीले जनाएको छ। घाइते हुनेमा म्याग्दी घर भएका ४० वर्षीय अमरध्वज पौडेल, ललितपुर गोदावरीका ३२ वर्षीय विशाल विक र सोही ठाउँका २९ वर्षीय मोसेफ लामिछाने छन् । घाइतेमध्ये विशालको अवस्था चिन्ताजनक रहेको ललितपुर प्रहरीले जनाएको छ । उनको आईसीयूमा उपचार भइरहेको छ ।
दुर्घटनामा परेको कारको अगाडिको भाग क्षतिग्रस्त भएको छ । तीव्र गतिमा रहेको कार आफैं अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले अनुमान गरेको छ । ११ हजार भोल्टको करेन्ट प्रवाह हुने बिजुलीको तार टाँगिएको पोल नै सडकको बीच भागमा रहेकाले सवारी आवागमन बन्द गरिएको हो । ललितपुर महानगरपालिकाका नगर प्रहरी, नेपाल विद्युत् प्राधिकरणका प्राविधिक समेतको सहयोगमा पोल हटाउने प्रयास जारी छ ।