शेखर सरकार ढाल्न लाग्यो भनेर गलत प्रचार गरिरहेका छन् : डा. कोइराला
‘सात बुँदे सहमति कार्यान्वयनमा सरकार चुक्यो’

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकार गठनका बेला भएको सात बुँदे सहमति कार्यान्वयनमा सरकार चुकेको बताएका छन्। आज (सोमबार) संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले सात बुँदे सहमतिमा उल्लेख संविधानमा संशोधन, आर्थिक सुधार, भ्रष्टाचारलाई निर्मूल गर्ने, दण्डहीनताको अन्त्य, सुशासन कायमलगायतमा सरकार चुकेको बताएका हुन् ।
उनले एमाले–कांग्रेसको दुईतिहाइको संख्याले नभई सदनभित्र रहेका सबै दलका साथै सरोकारवालाको राय लिएर मात्रै संविधानको पुनरावलोकन गर्नुपर्ने धारणा राखे । कोइरालाले कांग्रेसभित्र कुनै समस्या नरहेको स्पष्ट पारे । वर्तमान सरकार ढाल्न लाग्यो भनेर आफूलाई लगाइएको आरोप सत्य नभएको भन्दै कोइरालाले वर्तमान सरकारलाई असफल हुने छुट नरहेको बताएका छन्। उनले दुई दलले बनाएको संयन्त्र आवश्यक नरहेको मात्रै आफ्नो भनाइ रहेको जिकिर गरे ।
संयन्त्र बनाउनुपरे सरकारभित्रैबाट बनाउन उनले सुझाव दिए । उनले सरकारमा सँगै रहेका दलहरूबीच पालिकास्तरसम्म संयन्त्र बनाउने निर्णय गलत भएको पनि बताए। ‘बाहिर बसेका संयन्त्र बनाउन हुँदैन । डेमोक्रेटिक सिस्टममा जाने हो भने सरकारभित्र संयन्त्र बनाउनुस्, बाहिरको संयन्त्र बनाउने होइन,’ कोइरालाले भने, ‘पालिकासम्म संयन्त्र बनाएर जाने भनेर नेपाली कांग्रेस र एमालेले निर्णय गरेको छ, त्यो गलत छ भनेको हो ।’