सांसद शर्माको प्रस्ताव : नीति तथा कार्यक्रम पूरै संशोधन गरौं

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा सांसद जनार्दन शर्माले सरकारका नीति तथा कार्यक्रम पूरै संशोधन गर्नुपर्ने बताएका छन्। आज (सोमबार) नीति तथा कार्यक्रममाथि संशोधन हाल्दै शर्माले यस्तो प्रस्ताव गरेका हुन् । ‘देश बनाउने हो भने राष्ट्रिय सहमतिको एजेण्डा बनाऔं । नीति तथा कार्यक्रमलाई पूर्ण रूपले संशोधन गरौं र एउटा सहमति गरौं । त्यो सहमतिका आधारमा मात्रै अगाडि बढौं । हाम्रा अगाडि भयङ्कर चुनौती छन् । अन्यथा, ती चुनौतीहरूको सामना गर्न ढिला भइसक्ने छ,’ उनले भने ।
सांसद शर्माले नीति तथा कार्यक्रममा फेल भइसकेका पुराना एजेण्डाहरुको रटान लगाइएको बताएका छन् । सोमबार प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि संशोधन प्रस्ताव प्रस्तुत गर्दै शर्माले भने, ‘केवल पुरानै कुराहरुको रटान छ । असफल भइसकेका, फेल भइसकेका एजेण्डाहरु दोहोर्याइएको छ । ती फेरि कार्यान्वयन भएर लागू भए परिणाम दिन सक्ने अवस्था छैन ।’ उपलब्ध स्रोतहरुको अध्ययन गरेर तुलनात्मक लाभ र प्रतिस्पर्धी क्षेत्रहरुको पहिचान गरी उद्योगहरुको विकास गर्ने नीति आवश्यक भए पनि सरकारले त्यस्तो गर्न नसकेको उनको भनाइ थियो ।
शिक्षा प्रणाली सुधार्ने खालको नीति तथा कार्यक्रम आउन नसक्नुमा स्वार्थ लुकेको टिप्पणी गर्दै शर्माले भने, ‘शिक्षाको सुधारका लागि लगानी वृद्धि गर्ने र एकै खालको शिक्षा प्रणाली स्पष्ट गर्ने कुरा यो सरकारले ल्याउन पर्थ्याे। तर ल्याउन सकेन । किन ? यसभित्र के स्वार्थ छ ?’ उनले दुईतिहाइको सरकारले ल्याएको नीति तथा कार्यक्रम देशलाई पछाडि धकेल्ने खालको रहेको टिप्पणी गरे । ‘दुई तिहाइको सरकारले ल्याएको नीति तथा कार्यक्रम निराशा जगाउने र देश अगाडि बढाउने होइन, झन् पछाडि धकेल्ने, उत्पीडित जाति, लिङ्ग र क्षेत्रका विषयहरू नउठाउने, गरिबहरूका विषय नउठाउने, सुकुम्बासीका कुरा नउठाउने र आर्थिक उपार्जन र स्वरोजगारका विषय नउठाउने खालको छ, यस्तो नीति तथा कार्यक्रमले देश बन्दैन,’ उनले भने ।