कमल थापासहित पाँच जना पक्राउ, राजावादीले सुुरु गरे धर्ना

काठमाडौं । प्रधानमन्त्री निवास समेत रहेको बालुवाटार क्षेत्रमा प्रवेश गर्न खोजेपछि राप्रपा नेपालका अध्यक्ष कमल थापासहित पाँच जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको । स्थानीय प्रशासनले बालुवाटारलाई पनि निषेधित क्षेत्र घोषणा गरेको छ।
आइतबार (जेठ १८) दिउँसो नक्सालस्थित नारायणचौरबाट उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपीलराज बोहराले जानकारी दिए । ‘आजको आन्दोलनस्थलबाट उहाँहरू बालुवाटारतर्फ ‘मुभ’ हुन खोज्नु भयो । त्यसैले कमल थापासहित पाँच जनालाई नियन्त्रणमा लिएका छौँ’, उनले सुनाए । उनका अनुसार, नारायणचौरमा राजावादीको प्रदर्शन जारी छ । थापा पक्राउ परेलगत्तै आन्दोलनमा सहभागीहरूले धर्ना सुरु गरेका हुन् ।
राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार, थापासहित आइतबार पक्राउ परेका सबैलाई चाँडोभन्दा चाँडो रिहाइ गर्न माग गर्दै धर्ना सुरु गरिएको हो । ‘हामीले धर्ना सुरु गरेका छौं । तत्काल रिहा नहुने हो भने हामी आन्दोलन थप चर्को बनाउँछौं,’ श्रेष्ठले अनलाइनखबरसँग भने ।आज पनि नारायणचौरबाट राजावादीको प्रदर्शन बालुवाटारतर्फ जाँदै थियो । सो क्रममा राजावादीहरू उग्र हुँदै निषेधित क्षेत्र तोडेर अघि बढ्न खोजेको प्रहरीको दाबी छ। प्रधानमन्त्री, सभामुख लगायतको सरकारी निवास रहेको बालुवाटार क्षेत्रलाई सरकारले यसअघि नै निषेधित क्षेत्र घोषणा गरेको थियो ।