वाइसीएललाई प्रचण्डको निर्देशन : राजावादीलाई इँटको जवाफ पत्थरले दिने गरी तयारी गर्नुस्
‘गफ हाँक्ने बाहेक सरकारको हैसियत नै छैन’

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा (एमाले) ले यही जेठ १५ गते काठमाडौं कब्जा गर्ने भन्ने गफले बेइज्जत भएको टिप्पणी गरेका छन् । आइतबार (जेठ १८) काठमाडौंको कमलादीमा आयोजित वाईसीएलको राष्ट्रिय सम्मेलनमा उनले राजावादीको आन्दोलनलाई जवाफ दिने सरकारको इच्छाशक्ति नभएको जिकिर पनि गरे ।
‘सरकारको त कुनै हैसियत नै छैन। यसको इच्छाशक्ति पनि छैन। गफ हाँक्ने बाहेक केही छैन’ उनले भने, ‘उनीहरूले गफ गरे, हामीले एक लाख मान्छे उतार्यौं । काठमाडौं कब्जाको गफ गरे, देश–दुनियाँमा यति बेइज्जत भयो एमाले भन्ने पार्टीको । यस्ता छन्, यिनीहरूलाई मतलबको कुरा छैन।’ उनले राजावादीको आरोपको खण्डनका निम्ति गाउँगाउँ जाने कार्यक्रम बनाउन वाईसीएललाई निर्देशन दिए।
शान्तिपूर्ण रूपमा राजावादीविरुद्ध जाइलाग्न समेत उनले निर्देशन दिए । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले जेठ १५ गते काठमाडौं आफ्नो पार्टीको कब्जामा लिन नेता–कार्यकर्तालाई निर्देशन दिएका थिए। एमालेले त्यस दिन गणतन्त्र दिवस उत्सव भन्दै काठमाडौंमा सांस्कृतिक र्याली निकालेको थियो । अध्यक्ष प्रचण्डले राजावादीलाई इँटको जवाफ पत्थरले दिनेगरी तयारी गर्न निर्देशन दिएका छन्। उनले आइलाग्नेमाथि जाइलाग्न नसक्ने भए कसरी वाईसीएल हुन्छ भन्दै प्रश्न समेत गरेका छन् ।
पछिल्लो समय राजावादी छाडा बनेर आफूहरुमाथि आक्रमण गर्ने कोशिस गरिरहेको भन्दै प्रचण्डले आइलाग्नेमाथि जाइलाग्न तयारी भएर बस्न निर्देशन दिए। उनले भने, ‘अहिले राजावादीहरु बडो कताकताबाट पैसा ल्याएको छन्, पैसा त उनीहरुले थुपारेकै होलान् । त्यही पैसाको बलमा भाडाका मान्छे ल्याउने, छाडा बनाउने, जाँड खुवाउने, उफार्ने गरेको तपाईंहरुले र मैले देखिरहेका छौं । म के भन्न चाहन्छु भने जाइलाग्ने चाहिँ होइन, उनीहरुको सभामा, उनीहरुको आन्दोलनमा गएर जाइलाग्न भन्न मैले खोजिरहेको छैन, बुझ्नुहोला, तर उनीहरु छाडा भएका छन्। छाडा भएर हामीमाथि आक्रमण गर्ने कोशिस गर्दैछन्। यदि उनीहरु आइलाग्छन् भने त्यसको इँटको जवाफ पत्थरले दिनेगरी तयारी गर्नुहोस्। गर्नैपर्छ।’