सिंहदरबारमा प्रधानमन्त्रीसहित जुटे तीन दलका शीर्ष नेताहरु

काठमाडौं । संसदमा देखिएको गतिरोधलगायतका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको आव्हानमा प्रमुख तीन दलका शीर्ष नेताहरूको छलफल जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रमेश लेखकलगायत सहभागी छन् ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलहरूले संसदमा अवरोध गर्दै आएका छन्। राजीनामा नआएसम्म संसद चल्न नदिने उनीहरूको अडान छ । प्रतिपक्षीले आफ्नो अडान नछोडेपछि प्रधानमन्त्री ओलीले शीर्ष तीन दलका नेताहरूलाई छलफलमा बोलाएका हुन् । सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेस भने गृहमन्त्री लेखकको राजीनामालाई अनावश्यक विषय बनाएर प्रतिपक्षले सदन अवरोध गर्नु लोकतन्त्रविपरीत भएको बताएका छन् ।