बाटो होइन, चालक बदलेर पनि गति लिनुपर्छ : गगन थापा


१६:०२ बजे

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्नै दल सहभागी सरकारले काम गर्न नसकेको टिप्पणी गरेका छन् । आज (मंगलबार) नेपालगञ्जमा बाँके क्षेत्र नम्बर २ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै सरकारको नेतृत्व ठिक नभएको टिप्प्णी गरेका हुन् ।

कांग्रेस–एमालेको अहिलेको सरकारले संविधान संशोधनको मुख्य वाचा बिर्सेको उनले बताएका छन् । ‘सात बुँदामा हामीले संविधान संशोधन गर्छौं भनेका थियौं । तर, अहिले चटक्कै बिर्सेका छौं । अब यो अलमलबाट निस्केर तत्काल संविधान संशोधनको काम गर्नुपर्छ । जनतालाई भरोसा दिनुपर्छ,’ गगनले भने ।

सुशील कोइरालाको नेतृत्वमा आएको व्यवस्थालाई ‘नयाँ हाइवे’ भन्दै उनले भने, ‘यसलाई नराम्रो नभनौं । यो आउँदा सबै खुशी थिए । अहिले गाडी पुराना भए । मान्छेहरु भन्छन् बाटो खराब हो । तर हैन । अहिले गाडीभित्र समस्या देखियो । त्यो गाडी भनेको कांग्रेस पनि हो । पुरानो गाडीले समस्या गर्ने हैन तर आफूलाई समयअनुसार बदल्नु पर्छ ।’

गाडीको चालक ठिकसँग नचलेको भए चालक बदल्नु पर्ने उनको भनाई थियो । ‘त्यसो भए चालक नयाँ खोज्नु पर्छ।त्यसले राम्रो गतिमा अघि लगेर जान्छ । चालक छाडेर बाटो नै बदल्नतिर लाग्यौ भने फेरि १० वर्ष खेर जान्छ,’ उनले भने। महामन्त्री थापाले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाका कमजोरीलाई सुधार्दै यही व्यवस्था टिकाउने बताए । उनले सात बुँदे सहमतिअनुसार अहिलेको अलमलबाट बाहिर निस्केर संविधान संशोधन प्रक्रियाबारे छलफल गरिहाल्नुपर्ने बताए ।

‘अलमलबाट बाहिर निस्किएर कांग्रेस र एमालेले गरेका सात बुँदे बाचाअनुसार संविधान संशोधनको कार्य तत्काल सुरू गर्नुपर्छ,’ उनले भने, ‘साथै नागरिकलाई यही व्यवस्था टिक्छ र टिकाउँछौं । व्यवस्थामा रहेका कमजोरी सुधार्छौं भन्नु पर्छ। व्यवस्थामा रहेका कमजोरी सुधार्ने भनेको संविधान संशोधनबाटै हो ।’
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७