विपक्षीलाई सत्तापक्षको प्रष्ट सन्देश : गृहमन्त्रीको राजीनामा आउँदैन, छानबिन आयोग पनि बन्दैन

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा नआउने र छानबिन समिति पनि नबन्ने प्रष्ट पारेका छन् । विपक्षीले गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानबिन आयोगको माग गर्दै सदन अवरोध जारी राखेको बेलामा उनले अहिले कुनै समिति नबन्ने स्पष्ट पारेका हुन्।
उनले भने, ‘गृहमन्त्रीले सांसदबाट जवाफ दिन्छु भनेर पटक–पटक भनिराख्नु भएको छ। त्यो अवसर विपक्षीले दिइरहेको छैन । पहिले उहाँको कुरा सुन्नु पर्छ। गृहमन्त्रीको राजीनामा पनि हुने कुरा छैन। उहाँहरूले भने जस्तो कुनै समिति पनि बन्दैन ।’ उनले विपक्षीले अपरिपक्व ढङ्गले माग राखेको भन्दै पुनर्विचार गर्न आग्रह गरेका छन्। उनले भने, ‘उहाँहरू पछि हटेर संसद्को अवरोध हटाउन भूमिका खेल्नु पर्छ। यो कुरा हाम्रो प्रष्ट छ । उहाँहरूले के विषय उठाउनु हुन्छ त्यो कुरा सम्बोधन गरेर बस्ने भन्ने हुँदैन। संसदीय प्रक्रिया अगाडि बढ्नु पर्छ। हाउसलाई बन्धक बनाउन मिल्दैन ।’ उनले आफ्नो सजिलोका लागि विपक्षीहरूले जे भन्छन् त्यो नहुने बताए।