गाउँपालिका अध्यक्षकै ‘आतंक’

सुनसरी । गाउँपालिकाको अध्यक्ष स्थानीयको अभिभावक जस्तो हो। अध्यक्षले आफ्नो पालिकाभित्रका बासिन्दामाथि अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने दायित्व र कर्तव्य हो। तर, सुनसरीको कोशी गाउँपालिकाका स्थानीय भने आफ्नै पालिकाका अध्यक्षबाट आतंकित र आजित रहेको गुनासो गर्छन्। सुनसरीको कोशी गाउँपालिकाका अध्यक्ष ऐयुव अन्सारीबाट सर्वसाधरण मात्र होइन जनताको सुरक्षामा खटिने प्रहरी समेत आजित र आतंकित हुने गरेका छन्।
कोशी गाउँपालिकाका अध्यक्ष अन्सारीले ड्युटीमा खटिएका प्रहरीलाई नै ज्यान मार्ने धम्की दिएका छन् । जुन घटनाको भिडियो समेत सामाजिक सञ्जालमा छ्यापछ्याप्ती भेट्न सकिन्छ । भिडियोमा गाउँपालिकाले आफ्नै पदको समेत मर्यादा नराखी अश्लिल शब्दमा प्रहरीलाई गाली गरेको देख्न र सुन्न सकिन्छ । ट्राफिक प्रहरीले राजमार्गको चेक पोष्टमा नियमित चेकजाँज गरिरहेका बेला सहयोगीसहित आएका अध्यक्ष अन्सारीले अश्लिल शब्द प्रयोगसहित प्रहरीलाई ज्यान मार्ने धम्की दिएको भिडियोमा स्पष्ट देखिन्छ-सुनिन्छ । दूध डेरीमा डेलिभरी गर्दा घुस मागेको आरोप लगाउँदै अन्सारीले ट्राफिक प्रहरीलाई अपशब्द प्रयोग गर्दै गालीगलौज गरेको सुनिन्छ ।
भिडियोमा ‘कोशीमा ट्राफिक प्रहरी चाहिँदैन, यहाँबाट गइहाल’ भन्दै अध्यक्ष अन्सारीले हुलहुज्जत गरेको देखिन्छ । तर, केही स्थानीयहरुले भने प्रहरीले अनावश्य दुुख नदिएको बताएका छन्। ट्राफिक प्रहरीको कमजोरी नै भए पनि अध्यक्ष जस्तो जिम्मेवार व्यक्तिले सार्वजनिक स्थलमा अश्लिल शब्द प्रयोग कर्तव्य पालन गरिरहेका प्रहरीमाथि धाकधम्की दिनु शोभनीय नहुने स्थानीय बताउँछन् । नेपाली कांग्रेसबाट निर्वाचित अध्यक्ष अन्सारीले आफ्ना कार्यकर्तालाई पोस्ने र फाइदा पुग्ने गरी पालिकाका योजनाहरु बाँड्ने गरेको समेत स्थानीयको आरोप छ। कांग्रेसको सुनसरी क्षेत्र नम्बर–४ का क्षेत्रीय सभापति समेत रहेका अन्सारीको विगत पनि मनोमानी शैलीको रहेको स्थानीयले बताएका छन्। निर्माण व्यवसाय सञ्चालन गर्दै आएका अन्सारीले पहिले पनि योजानाहरुमा बेइमानी गर्दै आएको स्थानीयको भनाइ छ ।