भिजिट भिसा प्रकरणमा रास्वपाले कांग्रेसलाई पठायो पाँच बुँदे प्रस्ताव

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृहमन्त्री रमेश लेखक जोडिएको भिजिट भिसा प्रकरणमा सत्तारुढ नेपाली कांग्रेसलाई पाँच बुँदे प्रस्ताव पठाएको छ। रास्वपाले संसद् अवरोध हटाउन सहमतिका लागि सत्तारुढ नेपाली कांग्रेसलाई विभिन्न पाँच बुँदे प्रस्ताव पठाएको हो । रास्वपाले यसअघिका वार्ताका आधारमा सहमतिको खाका तयार गरी कांग्रेसलाई पठाएको हो।
जसमा भिजिट भिसाको नाममा भएको मानव तस्करी र सांगठनिक अपराधमा सरकारी संयन्त्र, ट्राभल एजेन्सी, म्यानपावर कम्पनी, एयरलाइन्स र नेपाली तथा विदेशी नियोगहरूको संलग्नताका विषयमा बहुआयमिक अनुसन्धान गर्न पाँच दिनभित्र उच्चस्तरीय छानविन समिति गठन गर्नुपर्ने प्रस्ताव गरेको छ। उक्त समितिको कार्यक्षेत्र, संरचना, व्यवस्थापन र अधिकार निर्धारण गर्न कार्यसम्पादन समिति एक दिनभित्र गठन गर्नुपर्ने प्रस्ताव छ। त्यस्तै, कार्यसम्पादन समितिले छानविन समितिको कार्यविधि पाँच दिनभित्र तयार गरी समिति गठन गर्ने र कार्यारम्भ गर्नुपर्ने प्रस्ताव गरेको छ ।
रास्वपाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विमानस्थल अध्यागमन कार्यालयमा भइरहेको भ्रष्टाचारजन्य कार्यहरूमा गरिरहेको अनुसन्धानमा हस्तक्षेप नगरी सरकारले पूर्ण सहयोग र सहजीकरण गर्नुपर्ने समेत प्रस्ताव गरेको छ। त्यस्तै, छानविन समिति गठन, अनुसन्धान प्रक्रिया र अध्ययन प्रतिवेदन सार्वजनिक गर्दा पारदर्शिताको उच्च मापदण्ड अपनाउनु पर्ने प्रस्ताव गरेको छ।भिजिट भिसामार्फत मानव तस्करी भएको विषयमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने, छानबिन समिति बनाउनुपर्नेलगायत माग राखी विपक्षी दलहरूले संसद्मा अवरोध गर्दै आएका छन्। भिजिट भिसा प्रकरणलाई लिएर प्रतिनिधिसभामा १३ जेठदेखि लगातार अवरोध जारी छ।
हेर्नुस् रास्वपाका प्रस्तावहरु