नेपाली सेनाको गस्ती र पेट्रोलिङ सुरु
काठमाडौँ : आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली सेनाले गस्ती र पेट्रोलिङ सुरु गरेको छ । निर्वाचनको सुरक्षालाई मजबुत बनाउन सेनाले महत्त्वपूर्ण प्रतिष्ठान, विमानस्थल तथा कारागारहरूको सुरक्षा जिम्मेवारी सम्हाल्न थालेको जनाएको छ ।
निर्वाचन अवधिमा सुरक्षाको तीन तहको व्यवस्था गरिएको छ । पहिलो घेरामा नेपाल प्रहरी तथा निर्वाचन प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी बल तथा निर्वाचन प्रहरी र तेस्रो अर्थात् सबैभन्दा बाहिरी घेरामा नेपाली सेना खटिने व्यवस्था गरिएको छ ।
तर सुरक्षा आवश्यकताको आधारमा नेपाली सेना कुनै पनि घेरामा खटिन सक्ने बताइएको छ । प्रमुख जिल्ला अधिकारी, निर्वाचन अधिकृत र मतदान अधिकृतसँगको समन्वयमा आवश्यकता अनुसार सेना पहिलो, दोस्रो वा तेस्रो घेरामध्ये जुनसुकैमा पनि परिचालन हुन सक्ने जनाइएको छ ।
नेपाली सेनाले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक गरेको भिडियो सन्देशमा सुरक्षा संवेदनशीलताका आधारमा सेना लचिलो रूपमा परिचालन गरिने उल्लेख गरिएको छ । उच्च जोखिम र चुनौती देखिएका क्षेत्रमा सेनालाई प्रारम्भिक चरणमै पहिलो घेरामा खटाउन सकिने व्यवस्था रहेको पनि सेनाले स्पष्ट पारेको छ ।
निर्वाचनलाई शान्तिपूर्ण र सफलतापूर्वक सम्पन्न गराउने प्रतिबद्धता जनाउँदै युद्ध कार्य निर्देशनालयका निर्देशक तथा सहायक रथी मनोज थापाले निर्वाचन अवधिभर नेपाली सेनाका फौजहरू परिचालन हुने बताए ।
उनले भने, 'निर्वाचनका क्रममा शान्ति सुरक्षा कायम गर्न हामीसँग उपलब्ध साधन, सामग्री र क्षमताको पूर्ण सदुपयोग गर्दै नेपाली जनताको चाहनाअनुसार निर्वाचनलाई पूर्ण रूपमा सफल बनाउन प्रभावकारी ढंगले परिचालन हुनेछौँ।'
नेपाली सेनाले अन्य सुरक्षा निकायसँग समन्वय गर्दै निर्वाचन सुरक्षामा सक्रिय भूमिका खेल्ने जनाएको छ ।
.gif)

.png)

