१० महिनामा झन्डै ६ अर्ब राजस्व संकलन

उठ्न नसकेको १० करोड रुपैयाँभन्दा बढीको पुरानो बक्यौता रकम समेत असुली


२०८३ जेठ ४ सोमबार ०९:३६ बजे

काठमाडौँः आन्तरिक राजस्व कार्यालय हेटौँडा, मकवानपुरले चालु आर्थिक वर्ष २०८२/८३ को १० महिनाको अवधिमा करिब ६ अर्ब रुपैयाँ राजस्व उठाउन सफल भएको छ। कार्यालयले बक्यौता रकम असुल्ने प्रक्रियालाई तीव्रता दिनुका साथै बजार अनुगमनलाई समेत बढाएपछि राजस्व संकलनमा उल्लेख्य सुधार आएको हो।

कार्यालय प्रमुख युक्तप्रसाद सुवेदीका अनुसार चालु आवको वैशाख मसान्तसम्ममा कूल ५ अर्ब ९२ करोड ६४ लाख रुपैयाँ राजस्व संकलन भएको छ। यो रकम गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको तुलनामा ३४ करोड २१ लाख २४ हजार रुपैयाँले बढी हो।

कार्यालयले सार्वजनिक गरेको १० महिनाको तथ्याङ्क अनुसार सबैभन्दा धेरै अन्तःशुल्कतर्फ ३ अर्ब ४५ करोड ६२ लाख ६५ हजार रुपैयाँ संकलन भएको छ। यसैगरी आयकरतर्फ १ अर्व २ करोड ४ लाख ९६ हजार रुपैयाँ, मूल्य अभिवृद्धि कर (भ्याट) तर्फ ८२ करोड ७१ लाख ५२ हजार रुपैयाँ र स्वास्थ्य जोखिम करतर्फ ५१ करोड ९२ लाख ५९ हजार रुपैयाँ उठेको छ। त्यस्तै, ब्याजकरतर्फ ६ करोड ८३ लाख ७७ हजार रुपैयाँ र बहालकरतर्फ १ करोड ५९ लाख ८८ हजार रुपैयाँ राजस्व खातामा जम्मा भएको छ।

कार्यालय प्रमुख सुवेदीले चालु आर्थिक वर्षका लागि कुल ८ अर्ब ४४ करोड रुपैयाँ राजस्व संकलन गर्ने वार्षिक लक्ष्य निर्धारण गरिएको जानकारी दिएका छन्। लक्ष्य भेट्टाउन कार्यालयले रणनीतिक योजनाका साथ काम गरिरहेको छ।

राजस्व वृद्धिका लागि कार्यालयले करदाताको घरदैलोमै पुग्ने, टेलिफोन तथा एसएमएसमार्फत ताकेदा गर्ने र सरकारले ल्याएका कर छुटसम्बन्धी सुविधाहरूको व्यापक प्रचारप्रसार गर्ने जस्ता विशेष अभियान चलाएको थियो। यस्ता प्रयासहरूका कारण लामो समयदेखि उठ्न नसकेको १० करोड रुपैयाँभन्दा बढीको पुरानो बक्यौता रकम समेत असुली भएको प्रमुख सुवेदीले बताएका छन्। उनले भनेका छन्, 'बक्यौता असुली र बजार अनुगमनलाई तीव्रता दिएकाले गत वर्षको तुलनामा बढी राजस्व सङ्कलन भएको हो।'

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७