प्रधानन्यायाधीशमाथि निष्पक्ष छानबिन गर्न बारको माग
काठमाडौं : नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा र विवादित मुद्दासँग सम्बन्धित व्यक्तिबीच भएको भनिएको संवाद तथा भेटघाटबारे निष्पक्ष छानबिन गर्न माग गरेको छ।
एसोसिएसनले बिहीबार विज्ञप्ति जारी गर्दै सार्वजनिक सञ्चारमाध्यममा आएका विवरणले गम्भीर सार्वजनिक चासो उत्पन्न गरेको भन्दै न्यायपालिकाको स्वतन्त्रता, निष्पक्षता र संस्थागत विश्वसनीयता कायम राख्न छानबिन आवश्यक रहेको जनाएको हो।
बारले सञ्चारमाध्यममा प्रकाशित आरोप तथा विवरणलाई नै अन्तिम सत्य वा कुनै व्यक्तिविरुद्धको दोष प्रमाणित भएको निष्कर्षका रूपमा लिन नमिल्ने स्पष्ट पारेको छ।
तर, न्यायपालिकाको उच्च नेतृत्व र न्यायाधीशहरूको आचरणसँग सम्बन्धित विषयमा गम्भीर प्रश्न उठेपछि त्यसलाई बेवास्ता गर्न नहुने उसको भनाइ छ।
विज्ञप्तिमा यस्ता विषयलाई सञ्चारमाध्यममा प्रकाशित समाचारमा मात्र सीमित नराखी तथ्यको निष्पक्ष परीक्षण गर्नुपर्ने उल्लेख छ। छानबिनबाट कानुनविपरीत कार्य भएको पुष्टि भएमा सम्बन्धित व्यक्तिको पद वा हैसियतको परवाह नगरी कारबाही गर्नुपर्ने बारको माग छ।
त्यस्तै, आरोप प्रमाणित नभएमा सम्बन्धित व्यक्तिको प्रतिष्ठा र संस्थागत मर्यादामा आँच नआउने गरी तथ्य स्पष्ट पार्नुपर्ने एसोसिएसनले जनाएको छ।
बारले न्यायपालिकाप्रतिको जनविश्वास कायम राख्न आरोपको निष्पक्ष छानबिन र तथ्यमा आधारित निष्कर्ष आवश्यक रहेकोमा जोड दिएको छ।
हेर्नूहोस् विज्ञप्तिः

.gif)

.png)



