भोजपुरका सडकमा गाडी डुबिरहेका छन्, सरकार निदाएर नबसोस्: ध्रुव राई
८४ को चुनाव ८२ मै हुँदा पनि जनताले परिवर्तन महसुस गरेनन्: ध्रुव राई
काठमाडौँः भोजपुरबाट निर्वाचित प्रतिनिधिसभा सदस्य ध्रुव राईले पहाडी जिल्लाका सडकहरूको दयनीय अवस्था र जनताले भोग्नुपरेको सास्तीप्रति संसद्मा सरकारको तीव्र आलोचना गरेका छन्। प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले लामो समयदेखि अलपत्र परेका सडकका कारण जनताले सास्ती व्यहोर्नुपरेको र यसको आक्रोश जनप्रतिनिधिहरूले सामना गर्नुपरेको बताए।
सांसद राईले पहाडी क्षेत्रको सडक पूर्वाधार अस्तव्यस्त हुँदा सर्वसाधारण र विशेष गरी बिरामीहरू मारमा परेको तथ्य सदनसमक्ष राखे। सडकको हिलो र खाल्डोका कारण सवारी साधनहरू ठप्प हुने गरेको उल्लेख गर्दै उनले भने, 'अलपत्र परेको सडकमा गाडीहरू डुबिरहेको छ। सामाजिक संजालमा हामीले गालीका वर्षाहरू पाइरहेका छौँ।'
यातायातका साधनहरू सडकमै अलपत्र पर्दा सुत्केरी र आकस्मिक उपचार चाहिने बिरामीहरूको ज्यान जोखिममा परेको भन्दै उनले सरकारको ध्यानाकर्षण गराए। उनले थपे, 'म सरकारलाई आग्रह गर्न चाहन्छु, आज पनि सुत्केरी बिरामीहरू गाडी भासिएर भोजपुर लगायत पहाडी जिल्लाहरूमा गाडीहरू चोबोलिरहेको छ।'
राजनीतिक परिवर्तन र हालैको निर्वाचनले पनि जनताको आधारभूत आवश्यकता पूरा गर्न नसकेको भन्दै उनले सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरे। विसं २०८४ मा हुनुपर्ने निर्वाचन देशको राजनीतिक परिस्थितिका कारण अगाडि सरेर विसं २०८२ मै सम्पन्न भए पनि त्यसले जनताको जीवनस्तरमा कुनै बदलाव ल्याउन नसकेको उनको तर्क थियो। निर्वाचनको सन्दर्भ जोड्दै उनले भने, '८४ मा हुनुपर्ने निर्वाचन ८२ मा भएको जनताले महसुस गर्न पाएको छैन।'
सांसद राईले सरकार जनताका यस्ता संवेदनशील र दैनिक समस्याप्रति संवेदनहीन बनेको आरोप समेत लगाए। उनले पहाडी जिल्लाका सडक पूर्वाधारको तत्काल मर्मत र स्तरोन्नति गर्न माग गर्दै अन्त्यमा सरकारलाई चेतावनीपूर्ण भाषामा भने, 'सरकार निदाएर नबसोस्।'
.gif)

.png)

