भोजपुरमा ध्रुव राई र धरानमा हर्क सम्पाङलाई सहयोग गर्ने सुदन किरातीको घोषणा
‘राजनीतिक संवाद तथा शुभेच्छुक र जेनजी विद्रोहको मूल मर्मलाई सम्मान गर्दै श्रम संस्कृति पार्टीका उम्मेदवारहरु सुनसरी क्षेत्र नं. १ का हर्कराज राई र भोजपुरका ध्रुव राईलाई हाम्रो प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को तर्फबाट सहयोग गर्ने घोषणा गर्दछु’
काठमाडौं : प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का अध्यक्ष परिषद् सदस्य तथा पूर्वमन्त्री सुदन किरातीले श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र श्रम संस्कृति पार्टीकै अर्का उम्मेदवार ध्रुव राईलाई सहयोग गर्ने घोषणा गरेका छन् । राजनीतिक संवाद तथा शुभेच्छुक र जेनजी विद्रोहको मूल मर्मलाई सम्मान गर्दै श्रम संस्कृति पार्टीका दुई उम्मेदवारहरुलाई सहयोग गर्ने घोषणा गरेका हुन् ।
हर्क साम्पाङ सुनसरी क्षेत्र नं. १ बाट उम्मेदवार बनेका छन् भने भोजपुरबाट ध्रुवको उम्मेदवारी छ । सुनसरी निर्वाचन क्षेत्र नं. १ बाट उम्मेदवार बन्दा नयाँ राजनीतिक शक्तिबीच हुने प्रतिस्पर्धाले दुवै पक्षलाई क्षति हुने र पुराना राजनीतिक दलहरुलाई लाभ पुग्ने स्वदेश तथा विदेशका शुभेच्छुकहरुको चिन्ता र सुझावलाई आत्मसात् गरेको उनको कथन छ ।
यसअघि भोजपुरबाट निर्वाचित किरातीले यसपाली भोजपुरबाट उम्मेदवार नबन्ने र ध्रुव राईलाई सहयोग गर्ने बताएका छन् । भनेका छन्, ‘मलाई पटकपटक निर्वाचित गर्नुहुने भोजपुरका नागरिकहरुप्रति मुरीमुरी आभार व्यक्त गर्दछु र नयाँ पुस्ताको नेतृत्व निर्वाचित गर्न सक्नुहोस् भनेर यसपटक उम्मेदवार नबन्ने निर्णय गरेको अनुरोध गर्दछु ।’
किरातीको स्टाटस :
अपिल !
आदरणीय सुनसरी क्षेत्र नं. १ र भोजपुर निवासी सम्पूर्ण आमाबुबा, दाजुभाइ, दिदीबहिनीहरु ! तपाईहरुप्रति मेरो आस्था, सम्मान र सेवा-सम्झना यथावत छ र रहने नै छ । म यस घडी तपाईंहरुलाई यो जानकारी गराउन चाहन्छु कि आगामी २१ फागुनको निर्वाचनमा मैले आफ्नो उम्मेदवारी नदिने निर्णय गरेको छु । यस क्रममा मलाई उम्मेदवार सिफारिस गर्ने प्रगतिशील लोकतान्त्रिक पार्टीको सुनसरी र भोजपुर जिल्ला कार्यसमितिलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु । मैले उम्मेदवारी नदिनुका मुख्य ३ कारणहरु हुन् :
१. मलाई पटकपटक निर्वाचित गर्नुहुने भोजपुरका नागरिकहरुप्रति मुरीमुरी आभार व्यक्त गर्दछु र नयाँ पुस्ताको नेतृत्व निर्वाचित गर्न सक्नुहोस् भनेर यसपटक उम्मेदवार नबन्ने निर्णय गरेको अनुरोध गर्दछु ।
२. सुनसरी निर्वाचन क्षेत्र नं. १ बाट उम्मेदवार बन्दा नयाँ राजनीतिक शक्तिबीच हुने प्रतिस्पर्धाले दुवै पक्षलाई क्षति हुने र पुराना राजनीतिक दलहरुलाई लाभ पुग्ने स्वदेश तथा विदेशका शुभेच्छुक महानुभावहरुको चिन्ता र सुझावलाई आत्मसात् गरेको छु ।
३. हाम्रो प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) भर्खरै मात्र जन्मिएको छ । त्यसैले यसलाई लामो राजनीतिक यात्रामा हिँडाउने उद्देश्यसहित हाल मेरो प्राथमिकतामा पार्टी निर्माणकै काम हुनेछ भन्ने जानकारी गराउँन चाहान्छु ।
साथै, राजनीतिक संवाद तथा शुभेच्छुक र जेनजी विद्रोहको मूल मर्मलाई सम्मान गर्दै श्रम संस्कृति पार्टीका उम्मेदवारहरु सुनसरी क्षेत्र नं. १ का हर्कराज राई र भोजपुरका ध्रुव राईलाई हाम्रो प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को तर्फबाट सहयोग गर्ने घोषणा गर्दछु ।
हाम्रो पार्टीलाई समानुपातिकतर्फ 'आँखा' चुनाव चिह्नमा मत प्रदान गरिदिनु हुन समेत सबैमा हार्दिक अपिल गर्दै देशव्यापी निर्वाचनमा सक्रियताका साथ खट्ने वाचा गर्दछु ।
.gif)

.png)

