पुराना नेताले सिद्धान्तमाथि हिंसा गरे, कार्यकर्ताले छिटो विद्रोह गर्नुस् : सुदन किराती
‘अब पुरानो साधन चढेर नयाँ गन्तव्यमा पुग्न सकिँदैन’
इलाम : श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले पुराना राजनीतिक दलका नेताहरूले आफ्नै सिद्धान्त र मूल्य–मान्यतामाथि ‘हिंसा’ गरेको आरोप लगाउँदै कार्यकर्तालाई विद्रोह गर्न आह्वान गरेका छन्।
इलामको सन्दकपुरमा श्रम संस्कृति पार्टीद्वारा आयोजित ‘केचनकवल–सगरमाथा हातेमालो’ कार्यक्रममा सम्बोधन गर्दै किरातीले पुराना दल र नेताहरूको राजनीतिक योगदानलाई सम्मान गर्दै अब नयाँ राजनीतिक यात्राका लागि विद्रोह गर्न ढिला नगर्न कार्यकर्तालाई आग्रह गरेका हुन्।
‘इतिहासमा योगदान गरेबापत ती पुराना पार्टी र नेताहरूलाई धन्यवाद दिऔँ। तर अब विद्रोह गर्न ढिला नगरौँ,’ किरातीले भने, ‘पुराना नेताहरूले आफ्नै सिद्धान्त र मूल्य–मान्यतामाथि धेरै नै हिंसा गरिसकेका छन्।’
उनले लामो समयसम्म कुर्सी नछाड्ने नेतृत्वसँग सम्बन्धविच्छेद गरी नयाँ राजनीतिक शक्तिसँग जोडिनसमेत आह्वान गरे। ‘घाट नपुगुन्जेलसम्म कुर्सी नछोड्ने नेता र पार्टीसँग छिटो सम्बन्धविच्छेद गरेर हाम्रो पार्टीमा आउनुहोस्,’ किरातीले भने, ‘यो लामो यात्रामा सँगै हातेमालो गरौँ।’
भिडियो,
किरातीले पुरानो राजनीतिक साधनबाट नयाँ गन्तव्यमा पुग्न नसकिने तर्क गर्दै श्रम संस्कृति पार्टीलाई नयाँ राजनीतिक शक्तिका रूपमा निर्माण गर्नुपर्ने बताए। ‘अब पुरानो साधन चढेर नयाँ गन्तव्यमा पुग्न सकिँदैन। ढिला नगरौँ भन्ने अपिल गर्दछु,’ उनले भने, ‘अब एक मात्र निर्विकल्प शक्ति हामी सबै मिलेर यही श्रम संस्कृति पार्टीलाई बनाऔँ।’
कार्यक्रममा नेकपा (एमाले) इलामका पूर्वजिल्ला सचिव तथा हाल कोशी प्रदेश कमिटी सदस्य उमेश गुरुङसहित विभिन्न राजनीतिक दल परित्याग गरेका दर्जनौँ नेता–कार्यकर्ता श्रम संस्कृति पार्टीमा प्रवेश गरे ।
.gif)

.png)
