शहीदकी आमा संसदमा भक्कानिइन्
‘न्याय दिनुस्, एक सेकेन्डमै पद छाड्छु’
काठमाडौं : हरेकजसो समय संसद्मा उभिएर जेनजी आन्दोलनका शहीद र घाइतेको परिवारले कहिले न्याय पाउँछन् भनेर प्रश्न गरिरहन्छिन्, सांसद रचना खतिवडा। तर मंगलबार प्रतिनिधि सभा बैठकको दृश्य भने फरक थियो।
जहाँ राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडा खत्री संसद्मा बोल्दै गर्दा भक्कानो छाडेर प्रश्न सोधिरहेकी थिइन्। प्रतिनिधि सभाको रोस्ट्रममा बोल्दै गर्दा उनले शहीदले न्याय कहिले पाउँछन् भनेर सरकारलाई पुनः प्रश्न गर्दै आफ्नो अस्तित्वको विषयमा कुरा उठाउन थालिन्।
जेनजी आन्दोलनमा छोरा गुमाएकी उनले आफू सांसद बन्नुको कारण पद वा राजनीति नभई न्यायको खोजी भएको स्पष्टीकरण उनको थियो। आफ्नो छोरासहित जेनजी आन्दोलनमा ज्यान गुमाएका युवाका परिवारले न्याय पाउनुपर्ने माग गर्दै उनले संसद्बाट सरकारलाई कठोर खबरदारी समेत गरिन् ।
‘जुन दिन जेनजी आन्दोलनका शहीदहरूले पूर्ण रूपमा न्याय पाउँछन्, त्यस दिन यो सांसद पदबाट राजीनामा दिन मलाई एक सेकेन्ड पनि हिचकिचाहट हुनेछैन,’ उनले भनिन् ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईँले आफूलक्षित गरेर 'छोराको रगतसँग सांसद पद साटेको' सन्दर्भसँग उनका भनाई लक्षित थिए। खतिवडाले आफूले सांसद पदलाई राजनीतिक अवसरका रूपमा नलिएको दाबी समेत गरिन् ।
उनले छोराको बलिदानपछि न्यायको खोजी गर्दै आफू संसद्सम्म आइपुगेको बताइन्।
रचनाले आफूलाई प्रधानमन्त्री बालेन्द्र शाहले पटक–पटक आग्रह गरेपछि सांसद बनेको बताउँदै तर, संसद्मा आएपछि आफ्नो मुख्य उद्देश्य जेनजी आन्दोलनका शहीद तथा घाइतेको न्यायका लागि निरन्तर खबरदारी गर्नु रहेको स्पष्ट पारिन्। ‘आज यो गरिमामय सदनमा उभिनु मेरो राजनीतिक रहर या पदको लालच थिएन। यो मेरो न्याय खोज्ने यात्रा थियो,’ उनले भनिन्।
सांसद खतिवडाले शहीदको परिवारमाथि हुने टिप्पणीप्रति पनि आपत्ति जनाइन्। छोराको बलिदानसँग सांसद पद साटेको आरोप लगाएर आफूलाई अपमान गरिएको भन्दै उनले यस्तो टिप्पणीले आफूलाई थप पीडा दिएको बताइन्। उनको आक्रोश आफ्नै सरकारतर्फ पनि लक्षित थियो।
‘एउटी शहीदकी आमाको यत्रो अपमान हुँदा यो सरकार के हेरेर बसेको छ ?’ उनले प्रश्न गरिन्।
खतिवडाले जेनजी आन्दोलनमा पक्राउ परेकाहरूलाई तत्काल रिहा गर्न, घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गर्न तथा शहीद परिवारले चित्त बुझ्ने गरी काम गर्न सरकारसँग माग गरिन्। ‘कारागारमा भएका जेनजी थुनिएकाहरूलाई तत्कालै रिहा गर्नुहोस् ।
घाइतेहरूको उपचारका लागि संसारको जुनसुकै ठाउँमा लैजानुपरे पनि निःशुल्क उपचार हुनुपर्ने भन्दै उनले भनिन्, 'शहीद परिवारले चित्त बुझ्ने गरी काम गर्नुहोस्।’
संसद्मा जेनजी आन्दोलनका शहीद तथा घाइते परिवारको न्यायको विषय निरन्तर उठाउँदै आएकी छन्। उनले सरकारलाई प्रश्न गर्न पाउनुपर्ने भन्दै आफ्नै सरकारमाथि समेत प्रश्न उठाएकी थिइन्।
जेनजी आन्दोलनमा छोरा गुमाएकी खतिवडाको गृहिणीबाट सांसदसम्मको यात्रा पनि छोराको बलिदानपछि न्यायको खोजीसँग जोडिएको छ।
.gif)

.png)
