एमाले नेता गुरुङले पार्टी परित्याग गर्दै भने : सिङ्गो जीवन एमालेमा व्यर्थै बिताएकोमा पछुतो छ
‘टिकट पाइनँ, सेटिङ र कृपापात्र पनि बनिनँ। पछुतो छैन, पछुतो त सिङ्गो जीवन एमालेमा व्यर्थै बिताएकोमा छ’
इलाम : नेकपा (एमाले) इलामका पूर्वसचिव तथा कोशी प्रदेश कमिटी सदस्य उमेश गुरुङले पार्टीको साधारण सदस्यता र प्रदेश कमिटी सदस्यको जिम्मेवारी त्यागेका छन्। करिब ३८ वर्ष एमालेमा बिताएको उल्लेख गर्दै गुरुङले आफूले पार्टीका लागि लामो समय योगदान गरे पनि पछिल्लो समय राजनीतिक अवसर र जिम्मेवारीबाट वञ्चित हुनुपरेको बताएका छन्।
‘सेटिङ, नातागोता, कृपापात्र भएनछु। पटक्कै पछुतो छैन। पछुतो त सिङ्गो जीवन एमालेमा व्यर्थै बिताएकोमा छ,’ पार्टी परित्यागको घोषणा गर्दै उनले भनेका छन्। गुरुङका अनुसार उनी २०४५/४६ सालको जनआन्दोलनको शुरुआती चरणमा तत्कालीन नेकपा (माले)सँग जोडिएका थिए। इलाम कलेजमा अध्ययनरत रहँदा बक्सिङ खेल्ने क्रममा कृष्ण होटलमा हुने राजनीतिक छलफलबाट आफू मालेको राजनीतिमा प्रवेश गरेको उनले स्मरण गरेका छन्।
२०४७ असारमा पदम भण्डारीबाट पार्टीको साधारण सदस्यता लिएको उल्लेख गर्दै उनले त्यसपछिको राजनीतिक यात्रामा कांग्रेस–कम्युनिस्टबीचका झडप, हिरासत र राजनीतिक प्रतिशोधका कारण अस्थायी शिक्षकको जागिरबाट हट्नुपरेको बताएका छन्।
उनका अनुसार २०५१ सालमा गाउँ कमिटी सदस्य, २०५४ मा सचिव, त्यसपछि इलाका कमिटी हुँदै २०६३ मा जिल्ला कमिटी सदस्य बनेका थिए। २०६७ सालमा नेपाल पत्रकार महासंघ इलामको अध्यक्षसमेत बनेका गुरुङ त्यसपछि एमाले जिल्ला उपसचिव र सचिवको जिम्मेवारीमा रहेर आठ वर्ष पूर्णकालीन राजनीतिमा बिताएको बताएका छन्।
२०८१ कात्तिकमा भएको जिल्ला अधिवेशनमा गुटभन्दा बाहिर रहेर स्वतन्त्र रूपमा उपाध्यक्ष पदमा उम्मेदवारी दिएको र त्यसपछि आफू १९ महिनासम्म जिम्मेवारीविहीन भएको गुरुङको दाबी छ। गत असार ३ गते आफूलाई कोशी प्रदेश कमिटी सदस्यमा मनोनीत गरिएको उनले बताएका छन्।
भारतीय सीमावर्ती आफ्नो गाउँमा एमालेको संगठन विस्तार गर्दा आफूले ठूलो राजनीतिक जोखिम र अपमान व्यहोरेको पनि गुरुङले उल्लेख गरेका छन्। उनका अनुसार जौबारी र मानेभञ्ज्याङमा पटकपटक आफूमाथि आक्रमण भएको थियो। २०६० जेठमा एमाले भएकै कारण २८ दिन माओवादीको अपहरणमा परेको पनि उनले बताएका छन्।
पार्टीप्रतिको आफ्नो प्रतिबद्धता देखाउने क्रममा उनले पारिवारिक जीवनमा भोगेको पीडादायी घटना पनि सार्वजनिक गरेका छन्। झलनाथ खनाल प्रधानमन्त्री भएपछि २०६८ चैत २७ गते सुकिलुम्बा विमानस्थल शिलान्यास कार्यक्रममा सहभागी हुन पार्टीको निर्देशनअनुसार सिलिगुडी अस्पतालमा उपचाररत श्रीमती मीनालाई छाडेर इलाम आएको उनले बताएका छन्। ‘भोलि बिहान पुग्दा उहाँले राति नै यो संसार छाडिसक्नुभएको रहेछ,’ उनले लेखेका छन्। त्यसको १४ दिनपछि आमालाई समेत हृदयघातका कारण गुमाएको उनले बताएका छन्।
एमाले विभाजनका क्रममा २०५४ र २०७८ दुवैपटक आफू मूलधारमै रहेको उल्लेख गर्दै गुरुङले २०७८ पछि पार्टीमा फर्किएका कतिपय नेताहरूले अवसर पाए पनि आफूले भने अवसर नपाएको गुनासो गरेका छन्।
पछिल्ला दुई स्थानीय तह निर्वाचनमा आफू उम्मेदवार बन्न आकांक्षी भए पनि टिकट नपाएको उल्लेख गर्दै उनले आफू ‘सेटिङ, नातागोता र कृपापात्र’ बन्न नसकेको बताएका छन्।
आफूलाई धेरै शुभचिन्तकले एकपटक संसदीय कार्यकारी भूमिकामा देख्न चाहेको भए पनि त्यो पूरा गर्न नसकेको भन्दै गुरुङले क्षमा मागेका छन्। पार्टी परित्यागको घोषणा गर्दै उनले अब बाँकी जीवन सामाजिक अभियान र लेखनमा लगाउने बताएका छन्।
‘आजदेखि मैले एमाले प्रदेश कमिटी सदस्यको जिम्मेवारी र पार्टीको साधारण सदस्यसमेत त्याग गरेको छु,’ उनले भनेका छन्, ‘मेरो राजनीतिक जीवनमा निरन्तर साथ, सहयोग र माया गर्नुहुने तपाईं सबैलाई जीवनभर भूल्नेछैन। समय बलवान छ, समयले कसैलाई माफी दिँदैन।’
गुरुङको स्टाटस :
मनभित्र नअटाएका कुराहरू
झण्डै ३८ वर्ष लामो समय नेकपा (एमाले)मा बिताएछु। २०४५/४६ को जनआन्दोलनको शुरुआती बेला संयोगले तत्कालीन नेकपा (माले)सँग जोडिएछु। इलाम कलेज पढ्थेँ। बेलुकी कभर्डहलमा बक्सिङ सिक्थ्यौँ। राष्ट्रिय खेलकुदमा भाग लिन इलामबाट म पनि ५४ केजी (फ्लाइवेट) समूहमा छानिएँ। हामीलाई बन्द प्रशिक्षणमा राखियो। खाने–बस्ने व्यवस्था कृष्ण होटलमा थियो। कृष्ण दाइले नै मलाई पहिलोपटक मालेमा लाग्न कन्भिन्स गर्नुभयो। होटलको भुइँतलामा जनआन्दोलनको कार्यक्रमबारे सल्लाह हुन्थ्यो।
२०४६ को आन्दोलन सफल भएपछि गाउँमा हामीले मालेका भेला, बैठकहरू गर्यौँ। २०४७ असारमा पदम भण्डारीबाट पार्टीको साधारण सदस्यता लिएको सम्झना छ। उग्र राजनीतिक स्कुलिङ। कांग्रेस–कम्युनिस्टबीच जताततै झडप। २०४८ जेठमा सार्वजनिक मुद्दामा १६ दिन हिरासत बसेँ। अस्थायी शिक्षक पनि थिएँ म। राजनीतिक प्रतिशोधका कारण फालिएँ।
२०५१ मा गाउँ कमिटी सदस्य, २०५४ मा सचिव, त्यसपछि इलाका कमिटी र २०६३ मा जिल्ला कमिटी सदस्य भएँ। २०६७ मा पत्रकार महासंघको अध्यक्ष पनि भएँ। त्यसपछि जिल्ला उपसचिव र सचिव भएर आठ वर्ष होलटाइमर बिताएँ।
२०८१ कात्तिकको जिल्ला अधिवेशनमा गुटभन्दा बाहिर स्वतन्त्र उपाध्यक्षको उम्मेदवारी दिएँ। ओली गुटको निर्देशनमा पाखा लागेँ। त्यसपछि १९ महिना जिम्मेवारीविहीन थिएँ। असार ३ गतेदेखि प्रदेश कमिटी सदस्यमा मनोनीत गरे।
भारतीय सीमावर्ती मेरो गाउँमा एमाले भएर संगठन गर्दाको पीडा अनगिन्ती छन्। बहुदलपछि साह्रै सीमित हामी, गाउँमा व्यहोरेका अपमानका कथाहरू पनि अनगिन्ती छन्। धेरैलाई थाहा छ, जौबारी र मानेभञ्ज्याङमा पटकपटक ममाथि आक्रमण भयो। २०६० जेठमा एमाले भएकै कारण २८ दिन माओवादी अपहरणमा परेँ। श्री जवेगु इलाम इन्चार्ज भएर नआएको भए आज म हुन्थेँ कि हुन्थिनँ।
पार्टीप्रति मेरो कति धेरै आशक्ति? झलनाथ प्रधानमन्त्री भएलगत्तै २०६८ चैत २७ गते सुकिलुम्बा विमानस्थल शिलान्यास थियो। कार्यक्रममा अनिवार्य उपस्थितिको उर्दी थियो। पार्टीको उर्दी मान्न मृत्युशय्यामा रहेकी श्रीमती मीनालाई सिलिगुडी अस्पतालमा सानो छोरी पूजाको साथ छोडेर इलाम आएँ। भोलिपल्ट बिहान पुग्दा उनले राति नै यो संसार छोडिसकेकी रहिछन्। त्यही पीडाले आमालाई पनि १४ दिन फरकमा हृदयाघातका कारण गुमाएँ।
पार्टी संकटको बेला २०५४ र २०७८ दुवै विभाजनमा म मूलधारमै रहेँ। २०७८ मा झन् धेरै नेताहरू पार्टी लयमा फर्किएपछि मिसिए र अवसर लिए। विगतका दुई स्थानीय चुनावमा आकांक्षी थिएँ। तर टिकट पाइनँ। सेटिङ, नातागोता, कृपापात्र भएनछु। पटक्कै पछुतो छैन। पछुतो त सिङ्गो जीवन एमालेमा व्यर्थै बिताएकोमा छ।
म मात्रै होइन, मेरा धेरै शुभचिन्तकले एकपटक संसदीय कार्यकारी भूमिकामा देख्न चाहेका थिए। पूरा गर्न सकिनँ। क्षमा दिनुहोला।
प्रियजनहरू! आजदेखि मैले एमाले प्रदेश कमिटी सदस्यको जिम्मेवारी र पार्टीको साधारण सदस्यसमेत त्याग गरेको छु। बाँकी जीवन सामाजिक अभियान र लेखनमा पनि लाग्नेछु। मेरो राजनीतिक जीवनमा निरन्तर साथ, सहयोग र माया गर्नुहुने तपाईं सबैलाई जीवनभर भूल्नेछैन। समय बलवान् छ, समयले कसैलाई माफी दिँदैन।
.gif)

.png)
