रेशम चौधरीको माफी मिनाहा सर्वोच्चद्वारा सदर
काठमाडौं : रेशम चौधरीलाई दिइएको कैद माफी अब कायम रहने भएको छ। सर्वोच्च अदालतले चौधरीलाई कैद माफी दिने तत्कालीन राष्ट्रपति रामचन्द्र पौडेलको निर्णय सदर गर्दै त्यसविरुद्ध परेको रिट खारेज गरेको हो।
सर्वोच्च अदालतका न्यायाधीशद्वय शारङ्गा सुवेदी र श्रीकान्त पौडेलको इजलासले यस्तो फैसला गरेको हो।
टीकापुर घटनामा ज्यान गुमाएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायतले चौधरीको कैद माफीविरुद्ध सर्वोच्चमा रिट दायर गरेकी थिइन्।
सर्वोच्चको पछिल्लो फैसलासँगै उक्त रिट खारेज भएको छ। चौधरीलाई २०८० जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले बाँकी कैद माफी दिएका थिए।
त्यसअघि सर्वोच्च अदालतले जेठ २ गते टीकापुर घटनामा चौधरीलाई दोषी ठहर गर्दै जन्मकैद हुने उच्च अदालत दिपायलको फैसला सदर गरेको थियो।
२०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको घटनामा एक नाबालकसहित आठ सुरक्षाकर्मीको मृत्यु भएको थियो। सो घटनामा चौधरीलाई जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलले जन्मकैदको फैसला सुनाएका थिए।
राष्ट्रपतिबाट कैद माफी पाएपछि चौधरी कारागारबाट रिहा भएका थिए। सर्वोच्चमा परेको रिटको अन्तिम टुंगोसँगै चौधरीलाई दिइएको कैद माफीसम्बन्धी विवाद पनि अदालतबाट टुंगिएको छ।
.gif)

.png)
