श्रम स्वीकृतिबिनै कुवेत उडाइए एक नेपाली, अध्यागमन अधिकृत तानिए छानबिनमा
काठमाडौं : श्रम स्वीकृतिको प्रक्रिया पूरा नभएका एक नेपाली सोमबार विमानस्थलबाट कुवेत उडेको घटना अनुसन्धानमा परेको छ।
सीसीटीभी र नेपाली पोर्ट प्रणालीबाट यात्रुको गतिविधि जाँच गर्दा अध्यागमन अधिकृतको भूमिका शंकास्पद देखिएपछि उनलाई छानबिनमा तानिएको हो। विभागको नेपाली पोर्ट प्रणाली र सीसीटीभी फुटेजअनुसार ती यात्रु बिहान करिब साढे ६ बजे अध्यागमन कक्षमा प्रवेश गरेका थिए।
उनले अध्यागमन डेस्कमा करिब आधा घण्टा बिताएको देखिएको छ। सो क्रममा उनी अर्को व्यक्तिसँग कुराकानी गरेको समेत सीसीटीभी फुटेजमा देखिएको छ।
त्यसपछि करिब ७ः१० बजे उनलाई प्रस्थान अनुमति दिइएको थियो। यात्रुको गतिविधि शंकास्पद देखिएपछि अनुसन्धान गर्दा उनको श्रम भिसासमेत नआएको पाइएको छ। श्रम स्वीकृतिको प्रक्रिया अघि बढाइएको भए पनि स्वीकृति प्राप्त नभएको देखिएको अनुसन्धानमा संलग्न अधिकारीहरूले बताएका छन्।
अनुसन्धानका क्रममा ती यात्रुले जापानमा रहेका एक व्यक्तिसँग रकमसम्बन्धी कारोबार गरेकोसमेत खुलेको छ। घटनामा अध्यागमन अधिकृतको भूमिका शंकास्पद देखिएपछि उनलाई छानबिनमा तानिएको हो।
ती अधिकृतमाथि थप अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत पत्राचार गरिएको छ।
.gif)

.png)
