पुनः श्रम स्वीकृतिको बहानामा घूस लिने हिमालयन एअरलाइन्सका कर्मचारी पक्राउ
काठमाडौं : वैदेशिक रोजगारीमा जाने यात्रुसँग पुनः श्रम स्वीकृति गराइदिने बहानामा रकम असुलेको आरोपमा हिमालयन एअरलाइन्सका एक कर्मचारी पक्राउ परेका छन्।
पक्राउ पर्नेमा हिमालयन एअरलाइन्सका कर्मचारी हंशराज जैशी रहेका छन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि विमानस्थल सुरक्षा कार्यालयको जिम्मा लगाएको छ।
असोज २६ गते वैदेशिक रोजगारीका लागि विदेश जान लागेका मीनबहादुर रावतको श्रम स्वीकृतिको म्याद सकिएको थियो। सोही अवस्थाको फाइदा उठाउँदै पुनः श्रम स्वीकृति गराइदिने र यात्रामा सहजीकरण गरिदिने भन्दै जैशीले रकम लिएको अध्यागमन कार्यालयले जनाएको छ।
जैशीले रकम असुलेको भन्दै रावतले फोनमार्फत अध्यागमन कार्यालयमा उजुरी दिएका थिए। उजुरीपछि गरिएको प्रारम्भिक छानबिनमा जैशीको ई–सेवा खातामा १४ हजार रुपैयाँ जम्मा भएको पाइएको अध्यागमनले जनाएको छ।
त्यस्तै, विमानस्थलको सीसीटीभी फुटेज जाँच गर्दा पनि यात्रुलाई सहजीकरण गर्ने बहानामा जैशीले शंकास्पद गतिविधि गरेको देखिएपछि उनलाई नियन्त्रणमा लिइएको हो। घटनाबारे थप अनुसन्धान तथा आवश्यक कारबाहीको प्रक्रिया अघि बढाइएको छ।
.gif)

.png)



