संसद् भवन अगाडि जेनजी सहिदको सालिक बनाउन रास्वपा सांसद रचना खतिवडाको माग
जेनजी सहिदको स्मृतिमा तत्काल सालिक निर्माण थालियोस्
काठमाडौँः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रचना खतिवडा खत्रीले संसद् भवनको मुख्य प्रवेशद्वार अगाडि ‘जेनजी’ सहिदहरूको सालिक निर्माणको काम तत्काल अगाडि बढाउन सरकारसँग जोडदार माग गरेकी छन्। प्रतिनिधि सभाको जारी बैठकमा विशेष समय लिएर बोल्दै उनले यो माग अघि सारेकी हुन्।
सांसद खत्रीले परिवर्तनका लागि आफ्नो ज्यान आहुति दिने सहिदहरूको योगदान र आन्दोलनका घाइतेहरूले भोगिरहेको पीडालाई केवल शब्दमा मात्र सीमित राख्न नहुने बताइन्। उनले राज्यले उनीहरूलाई औपचारिक सम्मान मात्र गरेर नपुग्ने भन्दै व्यावहारिक रूपमै न्यायको अनुभूति गराउन कार्यपालिकाको ध्यानाकर्षण गराइन्।
पछिल्लो जनआन्दोलन र परिवर्तनमा युवा पुस्ता (जेनजी) को भूमिका अतुलनीय रहेको भन्दै उनीहरूको स्मृतिलाई जीवन्त राख्न संसद् परिसर उपयुक्त स्थान हुने तर्क उनले गरिन्। सहिद परिवार र घाइतेहरूका मुद्दामा सरकार गम्भीर बन्नुपर्नेमा समेत उनले संसद्मार्फत विशेष जोड दिएकी छन्।
.gif)

.png)

