कङ्गोमा इबोला नियन्त्रणबाहिर

‘दुर्गमका मानिसहरू इबोलालाई विदेशीको आविष्कार मान्छन्, यो निकै दुःखद छ’ : लुक मालेम्बे


२०८३ जेठ ८ शुक्रबार ०८:१० बजे

काठमाडौँः कङ्गोको पूर्वी भूभागमा फैलिएको इबोला महामारीको मुख्य केन्द्रमा स्थानीय आक्रोशित भीडले एक अस्पतालको केही हिस्सामा आगजनी गरेका छन्। इबोला संक्रमणका कारण ज्यान गुमाएका भनिएका एक युवाको शव अन्तिम संस्कारका लागि लैजान अस्पताल प्रशासनले रोकेपछि मृतकका आफन्त र साथीभाइ आन्दोलित भएका हुन्।

इटुरी प्रान्तको बुनिका सहर नजिकै अवस्थित र्वम्पारा जनरल अस्पतालमा भएको उक्त घटनाका प्रत्यक्षदर्शी एवं स्थानीय राजनीतिज्ञ लुक मालेम्बे मालेम्बेका अनुसार आक्रोशित भीडले सुरुमा अस्पतालमा ढुङ्गामुढा गरेका थिए। त्यसपछि उनीहरूले आइसोलेसन वार्डका रूपमा प्रयोग भइरहेका टेन्टहरूमा समेत आगो लगाइदिए। स्थिति नियन्त्रण बाहिर जान थालेपछि भीडलाई तितरबितर पार्न प्रहरीले हवाई फायर समेत गर्नुपरेको थियो।

इबोला संक्रमितको मृत शरीर निकै संक्रामक हुने भएकाले भाइरसको थप फैलावट रोक्न अधिकारीहरूले सुरक्षित रूपमा अन्त्येष्टि गर्नुपर्ने कानुनी व्यवस्था छ। तर, सोही विषयलाई लिएर उत्पन्न विवादका कारण र्वम्पारा अस्पतालका चिकित्साकर्मीहरूलाई सुरक्षित राख्न सेना परिचालन गर्नु परेको छ।

अस्पतालका एक कर्मचारीले एएफपी समाचार एजेन्सीलाई दिएको जानकारी अनुसार सुरक्षाकर्मीहरू घटनास्थलमा आइपुग्नुअघि प्रदर्शनकारीको ढुङ्गा प्रहारबाट एक स्वास्थ्यकर्मी घाइते भएका छन्। इटुरी प्रान्तमा इबोला सुरक्षा संयन्त्रको नेतृत्व गरिरहेका जीन क्लाउड मुकेन्दीले बताए अनुसार ज्यान गुमाएका व्यक्ति स्थानीय समुदायमा निकै लोकप्रिय फुटबल खेलाडी थिए। उनीसँग आबद्ध मानिसहरू यस रोगको गम्भीरता र यथार्थ बुझ्न तयार नहुँदा यो दुर्घटना भएको मुकेन्दीको भनाइ छ। यता, मृतककी आमाले भने आफ्नो छोराको मृत्यु इबोला नभई टाइफाइडका कारण भएको दाबी गरेकी छन्।

राजनीतिज्ञ मालेम्बेले स्थानीय नागरिकमा यो भाइरस वास्तविक नै होइन भन्ने भ्रम रहेको खुलाएका छन्। उनले भने, दुर्गम क्षेत्रका मानिसहरूमा यसबारे सही सूचना वा चेतना पुगेको छैन, त्यसैले उनीहरू इबोलालाई विदेशीहरूको आविष्कार मान्छन्।' उनले थपे, 'अस्पताल र गैरसरकारी संस्थाहरूले पैसा कमाउनका लागि यो हौवा फैलाएको विश्वास यहाँको एक तप्काले गर्छ, जुन निकै दुःखद छ।' आगजनीबाट दुईवटा टेन्ट र गाड्न ठिक्क पारिएको एउटा शव समेत जलेको उनले जानकारी दिए।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले इबोलाका मृतकको व्यवस्थापन तालिमप्राप्त टोली र विशेष सुरक्षात्मक उपकरण (पीपीई) को प्रयोग गरी 'सुरक्षित र मर्यादित' रूपमा गर्नुपर्ने मापदण्ड तोकेको छ। आगजनी हुँदा उक्त टेन्टहरूमा ६ जना बिरामी उपचाररत थिए। घटनाको भद्रगोलका क्रममा उनीहरू भागेको आशंका गरिए पनि मेडिकल च्यारिटी 'अलिमा' ले ती सबै बिरामी सुरक्षित रहेको र हाल अस्पतालभित्रै उनीहरूको उपचार भइरहेको स्पष्ट पारेको छ।

यसै महामारीका कारण कङ्गोको राष्ट्रिय फुटबल टोलीले राजधानी किन्सासामा तय गरेको प्रि-वर्ल्ड कप प्रशिक्षण क्याम्प समेत रद्द गरेको छ। डब्ल्यूएचओले यसलाई 'अन्तर्राष्ट्रिय चासोको जनस्वास्थ्य आपतकाल' घोषणा गरे पनि महामारी (प्यान्डेमिक) को स्तरमा भने नरहेको जनाएको छ।

तथ्याङ्कको कुरा गर्दा, बुधबार डब्ल्यूएचओले कङ्गोमा ६०० शंकास्पद केसमध्ये १३९ जनाको मृत्यु भएको जनाएको थियो। तर, सोही दिन कङ्गोका स्वास्थ्य मन्त्री सामुएल रोजर काम्बाले राज्य नियन्त्रित सञ्चारमाध्यम आरटीएनसी टीभीमार्फत मृतकको संख्या १५९ पुगिसकेको दाबी गरेका छन्।

यसैबीच, कङ्गोको छिमेकी देश युगान्डामा पनि दुईवटा इबोला संक्रमित फेला परेका छन्। त्यसलगत्तै युगान्डाले कङ्गोसँगको सिमाना पार गर्ने उडान, बस र सबै सार्वजनिक यातायातमा अस्थायी रोक लगाएको छ। दुई देशको सिमाना जोडिएको सेम्लिकी नदीमा चल्ने यात्रुवाहक फेरी सञ्चालनमा समेत प्रतिबन्ध लगाइएको छ।

अहिले फैलिएको इबोला भाइरस 'बुन्डिबुग्यो' नामक दुर्लभ प्रजातिको हो। हालसम्म यस प्रजातिका विरुद्ध कुनै खोप बनेको छैन र नयाँ खोप तयार हुन कम्तीमा ९ महिना लाग्न सक्ने डब्ल्यूएचओको अनुमान छ।

यसैबीच, पूर्वी कङ्गोको केही भाग नियन्त्रणमा लिएको विद्रोही समूह 'एम२३' ले आफ्नो नियन्त्रित क्षेत्र दक्षिण किवु प्रान्तमा पहिलो इबोला संक्रमित भेटिएको पुष्टि गरेको छ। संक्रमित २८ वर्षीय युवा किसन्गानीबाट यात्रा गरी आएका थिए र उनको रिपोर्ट आउनुअघि नै मृत्यु भइसकेको विद्रोहीले जनाएका छन्। किसन्गानी उत्तर-केन्द्रीय त्सोपो प्रान्तको ठूलो सहर हो, जहाँ अहिलेसम्म संक्रमण देखिएको थिएन। विद्रोहीको कब्जामा रहेको क्षेत्रमा स्वास्थ्यकर्मीको पहुँचलाई लिएर चिन्ता बढेको छ। एम२३ समूहले यस्तो संकट पहिलो पटक सामना गरिरहेको भए पनि भाइरस नियन्त्रणका लागि अन्तर्राष्ट्रिय साझेदारहरूसँग मिलेर काम गर्ने प्रतिबद्धता जनाएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७