सगरमाथा आरोही सशस्त्र प्रहरीका दुई महिला कर्मचारीको एक तह बढुवा
‘एपीएफ सम्मान’ बाट सम्मानित गरिने
काठमाडौँ, ९ जेठ: विश्वको सर्वोच्च शिखर सगरमाथा र लोत्से हिमालको सफल आरोहण गरी कीर्तिमान कायम गरेका सशस्त्र प्रहरी बलका दुई महिला कर्मचारीको एक तह बढुवा हुने भएको छ। सगरमाथा र लोत्से दुवै हिमाल आरोहण गरेकी सशस्त्र प्रहरी सहायक निरीक्षक निम दिक्की शेर्पाको तत्काल बढुवा प्रक्रिया अगाडि बढाइएको छ भने सगरमाथा आरोही सशस्त्र प्रहरी सहायक हवल्दार अनिता कार्कीलाई हालको दर्जाको न्यूनतम सेवा अवधि पुगेपछि हवल्दारमा बढुवा गरिने भएको छ।
सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले हिमाल आरोहीद्वयलाई बधाई दिँदै उक्त घोषणा गरेसँगै आवश्यक प्रक्रिया सुरु भइसकेको सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता, सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) विष्णुप्रसाद भट्टले जानकारी दिए।
सशस्त्र प्रहरी बल नेपालको इतिहासमा सगरमाथा र लोत्से हिमाल आरोहण गर्ने शेर्पा र कार्की पहिलो महिला आरोही हुन्। उनीहरूलाई सङ्गठनको तर्फबाट विशिष्ट ‘एपीएफ सम्मान’ बाट समेत सम्मानित गरिने भएको छ। सहायक हवल्दार अनिता कार्कीले जेठ ३ गते बिहान १०:२० बजे सगरमाथाको सफल आरोहण गरेकी थिइन् भने सहायक निरीक्षक निम डिक्की शेर्पाले सोही दिन बिहान ११:५५ बजे सगरमाथा र जेठ ४ गते दिउँसो ३:२५ बजे लोत्से हिमालको चुचुरोमा पाइला टेकेकी थिइन्।
सर्वोच्च शिखरमा राष्ट्र र सङ्गठनको झण्डा फहराउन पाउनु आफ्नो लागि गर्वको विषय रहेको भन्दै आरोहीद्वयले सहयोग गर्ने सम्पूर्णमा कृतज्ञता व्यक्त गरे। महानिरीक्षक पौडेलले यस ऐतिहासिक सफलताले सकल दर्जाका राष्ट्रसेवक कर्मचारीहरूको मनोबल, प्रेरणा र उत्साह थपेको उल्लेख गरे।
.gif)

.png)

