दीपक भट्टविरुद्ध २६ अर्ब ६३ करोडको सम्पत्ति शुद्धीकरण मुद्दा दर्ता

दोब्बर जरिवानाको माग


२०८३ जेठ २९ शुक्रबार १५:२५ बजे

काठमाडौँ :  काठमाडौँ । वित्तीय घोटालामा संलग्न भई सम्पत्ति आर्जन र शुद्धीकरण गरेको अभियोगमा व्यवसायी दीपक भट्टसहित ३९ प्रतिवादीविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता भएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बिहीबार दायर गरेको अभियोगपत्रमा प्रतिवादीमध्येका व्यवसायी दीपक भट्टलाई मात्रै २६ अर्ब ६३ करोड २७ लाख ७१ हजार ५९ रुपैयाँ ६८ पैसा बिगो मागदाबी गर्दै सो रकमको दोब्बर जरिवाना हुनुपर्ने माग गरेको छ।

बिहीबार भट्टसहित ३९ जनाविरुद्ध दायर गरिएको अभियोगपत्रअनुसार उनले हिमालयन रि–इन्स्योरेन्सलगायत बीमा कम्पनीबाट रकम हिनामिना तथा आर्थिक दुरुपयोग गरी गैरकानुनी रूपमा प्राप्त रकमलाई विभिन्न माध्यमबाट वैधानिक देखाउने प्रयास गरेको आरोप छ।

अभियोगपत्रमा भट्टले नेपाल रि–इन्सुरेन्सलगायत कम्पनीको सेयर खरिदमा ३ अर्ब ८१ करोड ४६ लाख रुपैयाँभन्दा बढी लगानी गरी गैरकानुनी स्रोतलाई शुद्धीकरण गरेको उल्लेख छ। त्यस्तै, डिबेन्चर खरिदबिक्रीमार्फत रकमको स्रोत लुकाउँदै ८० करोड ३५ लाख रुपैयाँभन्दा बढी रकम वैधानिक सम्पत्ति जस्तो देखाएको दाबी गरिएको छ।

क्र.सं. कसुर तथा लगानीको प्रकृति विगो रकम (रु.)
१. हिमालयन रि-इन्सुरेन्स लगायतबाट आर्थिक दुरुपयोग गरी नेपाल रि-इन्सुरेन्सको सेयर खरिद ३ अर्ब ८१ करोड ४६ लाख ४ हजार २३०
२. डिबेन्चर खरिदबिक्री र कर दाखिलाको आवरणमा स्रोत र स्वरूप बदलेको ८० करोड ३५ लाख २१ हजार ८७
३. नेपाल रि-इन्सुरेन्सको सेयर घाटामा बिक्री गरेको भ्रमपूर्ण तथ्य सिर्जना गरी पुनः लगानी १२ करोड ७० लाख ७१ हजार २२०
४. गैरकानुनी नगदलाई सेयरमा रूपान्तरण गरी डिम्याट खातामा रहेको मौज्दात २ अर्ब ८९ करोड २० लाख ४८ हजार ८३९
५. धितोपत्रको मूल्य प्रभावित पारी हिमालयन रि, हिमालयन क्याप, हिमालयन लाइफमा गरेको कसुर १७ अर्ब ४८ करोड २ लाख ८८ हजार २२०
६. व्यावसायिक कर्जा (लोन) दुरुपयोग गरी बैंकिङ कसुरमार्फत शुद्धीकरण ४२ करोड १४ लाख ८८ हजार ८०७
७. इन्फिनिटी होल्डिङ्गसमार्फत हिमालयन रि-इन्सुरेन्समा गरेको संस्थापक लगानी ४५ करोड
८. इन्फिनिटी होल्डिङ्गसको संस्थापक लगानीबाट प्राप्त सेयर लाभांश (डिभिडेन्ड) ३ करोड ९० लाख ६० हजार
९. इन्फिनिटी होल्डिङसको खातामार्फत कसुरजन्य कार्यमा प्रयोग भएको रकम १९ करोड ९६ लाख १० हजार ९००
१०. सिद्धार्थ बैंकमा रहेको व्यक्तिगत खाता दुरुपयोग गरी चलाइएको रकम ९ करोड ११ लाख ५२ हजार १३४
११. इन्फिनिटी होल्डिंग्सको कार्यालयमा छापा मार्दा बरामद भएको नगद १४ लाख ९३ हजार
१२. विदेशी विनिमय अपचलन (विदेशी मुद्रा कसुर) ४ लाख ३८ हजार ६२०
१३. जगदम्बा मोटर्सको नाममा खरिद गरी व्यक्तिगत रूपमा प्रयोग गरेको गाडी ६ करोड ३० लाख
१४. बीमा प्राधिकरणलाई झुक्याई गार्डियन माइक्रो लाइफ र नेपाल माइक्रो इन्सुरेन्समा गरेको लगानी २४ करोड ८९ लाख ९४ हजार
कुल सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको जम्मा मागदाबी (बिगो) २६ अर्ब ६३ करोड २७ लाख ७१ हजार ५९

विभागका अनुसार उनले नेपाल रि–इन्सुरेन्सको सेयर घाटामा बेचेको देखाएर पुनः सोही सेयर खरिद गरी १२ करोड ७० लाख रुपैयाँभन्दा बढी शुद्धीकरण गरेको आरोप छ। साथै, विभिन्न नगद कारोबारलाई सेयरमा रूपान्तरण गरी डिम्याट खातामा २ अर्ब ८९ करोड २० लाख रुपैयाँ बराबरको सेयर मौज्दात राखेको अभियोगपत्रमा उल्लेख छ।

भट्टमाथि धितोपत्र कसुरमार्फत बजार मूल्य प्रभावित पारेर व्यक्तिगत लाभ लिएको र त्यस क्रममा हिमालयन रि–इन्सुरेन्स, हिमालयन क्यापिटल सर्भिसेस तथा हिमालयन लाइफ इन्सुरेन्समार्फत १७ अर्ब ४८ करोड रुपैयाँभन्दा बढी रकम शुद्धीकरण गरेको आरोप पनि लगाइएको छ।

त्यस्तै, बैंकिङ कसुरअन्तर्गत व्यावसायिक कर्जाको दुरुपयोग गरी ४२ करोड १४ लाख रुपैयाँ शुद्धीकरण गरेको, इन्फिनिटी होल्डिङ्समार्फत ४५ करोड रुपैयाँ लगानी गरेको तथा त्यसबाट प्राप्त लाभांश ३ करोड ९० लाख रुपैयाँसमेत गैरकानुनी सम्पत्तिको हिस्सा भएको दाबी गरिएको छ।

अभियोगपत्रमा इन्फिनिटी होल्डिङ्स र सिद्धार्थ बैंक खातामार्फत भएको करोडौंको कारोबार, कार्यालयबाट बरामद नगद, विदेशी विनिमय कसुर तथा जगदम्बा मोटर्समार्फत खरिद गरिएको ६ करोड ३० लाख रुपैयाँ बराबरको गाडीलाई समेत शुद्धीकरणसँग जोडिएको उल्लेख छ।

यस्तै, ग्रिन डेभलपर्सको सेयर कारोबारको आवरणमा नेपाल बीमा प्राधिकरणलाई झुक्याउँदै गार्डियन माइक्रो लाइफ र नेपाल माइक्रो इन्सुरेन्समा २४ करोड ८९ लाख रुपैयाँ लगानी गरेको आरोपसमेत भट्टमाथि लगाइएको छ।

सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ अन्तर्गत विभागले भट्टसँग बिगो असुलीका साथै सोही रकमको दोब्बर जरिवाना माग गर्दै मुद्दा दर्ता गरेको जनाएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७