सामाजिक सञ्जालमा भ्रामक सामग्री फैलाउनेमाथि प्रहरीको कारबाही, एक पक्राउ
साइबर ब्युरोले बनायो विशेष समिति
काठमाडौं : बाढी तथा विपद्का विषयमा गलत सूचना, अफवाह र भ्रामक सामग्री फैलाउनेविरुद्ध नेपाल प्रहरीले निगरानी बढाउँदै कारबाही अघि बढाएको छ। प्रहरीका अनुसार फेसबुकमा १६८, टिकटकमा ४ र इन्स्टाग्राममा १ गरी सामाजिक सञ्जालमा १७३ वटा गलत सूचना तथा अफवाह फैलाउने सामग्री भेटिएका छन्।
तीमध्ये फेसबुकका ७९ र टिकटकका ४ गरी ८३ वटा सामग्री प्रहरीको साइबर सक्रियतापछि हटाइसकिएको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेले विपद्को संवेदनशील समयमा बीभत्स तस्बिर तथा भिडियो पोस्ट गरी त्रास फैलाउने र सामाजिक सहिष्णुता बिगार्ने गतिविधि भइरहेको बताए। यस्ता गतिविधि नियन्त्रण गर्न प्रहरी निरन्तर सक्रिय रहेको उनको भनाइ छ।
भ्रामक सामग्रीको अनुगमन तथा नियन्त्रणका लागि साइबर ब्युरोका प्रहरी नायब उपरीक्षक गजेन्द्र आचार्यको संयोजकत्वमा १० सदस्यीय विशेष समिति गठन गरिएको छ। समितिले प्रहरीका अन्य निकाय तथा सम्बन्धित सरोकारवालासँग समन्वय गरी आवश्यक कानुनी कारबाही अघि बढाउने प्रहरीले जनाएको छ।
यसैबीच प्रहरीले सामाजिक सहिष्णुतामा आघात पुर्याउने अभिव्यक्तिसहितको भिडियो सामग्री प्रसारण गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौँको चन्द्रागिरी नगरपालिका–१२, बलम्बु बस्ने बैतडीको सुर्नया गाउँपालिका–७ घर भएका २४ वर्षीय वीरेन्द्र मडै रहेका छन्। उनलाई साइबर ब्यूरोबाट खटिएको प्रहरीले आइतबार पक्राउ गरेको हो।
मडैले भोटेकोशीमा आएको बाढीबाट भएको जनधनको क्षतिसम्बन्धी विभिन्न जातजातिलाई लक्षित गरी होच्याउने तथा अपमानित गर्ने अभिव्यक्ति रहेको भिडियो बनाएका थिए। उनले विपत्तिमा खुसी व्यक्त गर्ने आशयको उक्त भिडियो सामाजिक सञ्जाल फेसबुकको रिल्समा प्रसारण गरेको प्रहरीले जनाएको छ।

.gif)

.png)

