सुस्ता क्षेत्रमा भारतीय एसएसबीको ज्यादती, तटबन्ध निर्माणमा निरन्तर बाधा
स्थानीयद्वारा प्रतिकार
काठमाडौं : नेपाल-भारत सीमावर्ती क्षेत्र सुस्तामा नेपाली भूमिमा भइरहेको तटबन्ध निर्माण कार्यमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले निरन्तर अवरोध सिर्जना गर्दै आएको छ। पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकास्थित नारायणी नदीको नेपाली भंगालोमा नदी कटान नियन्त्रणका लागि निर्माण भइरहेको जनताको तटबन्ध कार्यक्रममा भारतीय सुरक्षाकर्मीले पटक-पटक बाधा पुर्याउने गरेका हुन्।
नेपाली भूभागको संरक्षणका लागि भइरहेको यो निर्माण कार्यलाई भारतीय पक्षले विवादित क्षेत्र भन्दै रोक्न खोज्दा स्थानीय बासिन्दा र एसएसबीबीच पटक-पटक विवाद र तनावको स्थिति सिर्जना हुने गरेको छ। पछिल्लो समय शुक्रबार बिहान पनि हतियारसहित भारतीय एसएसबीको टोली सुस्ता खोला तरेर नेपाली भूमिमा प्रवेश गरेपछि स्थानीय बासिन्दाहरू प्रतिकारमा उत्रिएका थिए।
एसएसबीले नेपालतर्फ भइरहेको भौतिक पूर्वाधार र तटबन्ध निर्माणका काममा गिद्धे नजर लगाउँदै आएको र नेपाली सुरक्षाकर्मीको उपस्थिति कम भएको मौका छोपेर नेपाली नागरिकलाई धम्क्याउने गरेको स्थानीयको आरोप छ। शुक्रबारको घटनामा पनि एसएसबीको टोली आएर काम रोक्न खोजेपछि स्थानीयले चर्को नाराबाजीसहित प्रदर्शन गर्दै उनीहरूलाई त्यहाँबाट लखेटेका थिए।
यस विषयमा नेपालतर्फको सशस्त्र प्रहरी बल (एपीएफ) ले सीमा पार गरेर आएका भारतीय अधिकारीहरूसँग आन्तरिक छलफल र वार्ता गरिरहेको जनाएको छ। सुरक्षा अधिकारीहरूका अनुसार भारतीय पक्षले गस्तीका क्रममा आफ्नोतर्फको जमिनमा पानी जमेका कारण वा बाटो बिराएर नेपालतर्फ प्रवेश गरेको दाबी गरे पनि स्थानीय बासिन्दाहरू भने यसलाई तटबन्ध निर्माण रोक्ने रणनीतिक अवरोधकै निरन्तरता मान्छन्। सीमा क्षेत्रमा नेपाली भूमिको रक्षा र पूर्वाधार निर्माणलाई निर्वाध रूपमा अगाडि बढाउनका लागि स्थायी सुरक्षा पोष्टको सुदृढीकरण र कुटनीतिक तहबाटै ठोस पहल हुनुपर्ने माग सुस्ताबासीले राख्दै आएका छन्।
.gif)

.png)

