फागुन २१ को निर्वाचनले देशलाई फाँसिवादतिर लैजाने लाइसेन्स दियो : ओली
काठमाडौं : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीले एकपटक एउटा मोर्चामा पराजय व्यहोर्नु परे पनि फेरि जित्ने विश्वास व्यक्त गरेका छन्। सुर्खेतमा आज आयोजित प्रदेशस्तरीय भेलालाई भर्चुअल सम्बोधन गर्दै अध्यक्ष ओलीले एकपटक एउटा मोर्चामा पराजित हुँदैमा पार्टीपङ्तीले निराश हुनु आवश्यक नरहेको बताएका छन्।
नेकपा (एमाले) ले सरकारको नेतृत्व गर्दा ऐतिहासिक र देशभक्तिपूर्ण कामहरू गरेको तथा आलोचना गर्ने ठाउँसमेत नरहेको स्मरण गर्दै अध्यक्ष ओलीले एमालेलाई नसिध्याई देश कमजोर बनाउन सकिन्न भन्ने प्रतिक्रियावादीहरू सबै मिलेर निर्वाचनमा एमालेलाई हराएको स्पष्ट पारेका छन्। उनले गत फागुन २१ गतेको निर्वाचनबाट देशलाई फाँसिवादतिर लैजाने लाइसेन्स उपलब्ध भएको दाबी गरेका छन्।
अध्यक्ष ओलीले अहिले समाजलाई आस्थाहीन, मर्यादाहीन र संस्कारहीन बनाउँदै देशमा आतङ्कको राज सिर्जना भइरहेको बताएका छन्। उनले देशको पक्षमा आवाज उठाउँदा पञ्चायती व्यवस्थामा भन्दा अहिले बढी दमन हुन थालेको उल्लेख गरेका छन्। "फाँसिवादले लामो समय राज गर्न सक्दैन, यो प्रकृतिको, राजनीतिको र समाज विकासको नियम हो," भन्दै उनले जनता सधैँ नहार्नेमा जोड दिएका छन्।
अहिले साना देशलाई आफ्नो नियन्त्रणमा लिने विश्वव्यापी ट्रेण्ड चलेको र यस्तो परिस्थिति सधैँ नरहने बताउँदै उनले विश्व जनता, न्याय र शान्तिका पक्षमा उभिने विश्वास व्यक्त गरेका छन्। नेकपा (एमाले) सँग सही नीति, विचार र गन्तव्य रहेको उल्लेख गर्दै उनले पार्टी कार्यकर्तालाई निराश नभई उच्च मनोबलका साथ एकताबद्ध भएर अगाडि बढ्न आग्रह गरेका छन्। साथै, उनले पार्टी र आन्दोलनलाई विनाशको बाटोमा जान नदिन आफ्नोतर्फबाट पूरा प्रयास रहने प्रतिबद्धता जनाएका छन्।
.gif)

.png)

