संघीयता मधेशी जनताको बलिदानीबाट आएको हो, छेडखानी गरिए प्रतिवाद गर्छौ : उपेन्द्र यादव


२०८३ असार १३ शनिबार २०:२४ बजे

जनकपुरधाम: जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले संघीयता नेपाली जनताको लामो त्याग र बलिदानीबाट प्राप्त उपलब्धि भएको बताउँदै यसमाथि हुने कुनै पनि खेलबाड सह्य नहुने चेतावनी दिएका छन्।

शनिबार जनकपुरधाममा मधेश प्रदेशका प्रतिनिधि सभाका पूर्व उम्मेदवारहरूसँग आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले संघीय लोकतान्त्रिक गणतन्त्र र प्रदेश संरचनाको रक्षाका लागि पार्टी दृढ रहेको स्पष्ट पारेका हुन्।

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनबाट पारित संघीयता पुनर्संरचना र प्रदेश सभा खारेजीको प्रस्तावप्रति लक्षित हुँदै अध्यक्ष यादवले भने, 'देशमा संघीयता कसैको दया वा कृपाबाट आएको होइन। यो सयौं मधेशी जनताको बलिदानीबाट प्राप्त उपलब्धि हो।' उनले अगाडि थपे, “यसलाई कसैले छेडखानी गर्न खोजे जसपा नेपाल मात्रै होइन, सम्पूर्ण मधेशी जनता त्यसको प्रतिवाद गर्न सडकमा ओर्लिनेछन्।'  उनले संघीयताको मर्ममाथि प्रहार भए पुनः एकपटक आन्दोलनका लागि तयार रहन आफ्ना नेता तथा कार्यकर्ताहरूलाई आह्वान गरेका छन्।

पार्टीको मूल लक्ष्य सामाजिक न्याय, पहिचान र अधिकार प्राप्ति नै रहेको बताउँदै अध्यक्ष यादवले लक्ष्य प्राप्त नभएसम्म संघर्ष जारी रहने कुरामा जोड दिएका छन्। उनले निर्वाचनको परिणामलाई मात्रै अन्तिम सत्य नठान्न आग्रह गर्दै संगठनलाई गाउँदेखि प्रदेश तहसम्म थप सुदृढ बनाउन निर्देशन दिएका छन्।

साथै, डिजिटल युगमा सूचना र सञ्चारको महत्वलाई औंल्याउँदै उनले नेता-कार्यकर्तालाई सामाजिक सञ्जालको प्रभावकारी प्रयोग गर्न आग्रह गरेका छन्। उनले पार्टीका नीति, विचार र गतिविधिहरूलाई डिजिटल माध्यमबाट आम जनतासामु पुर्‍याई राजनीतिक अभियानलाई थप सशक्त बनाउन सक्रिय हुन निर्देशन दिएका छन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७