एकै निर्वाचनको परिणामले कम्युनिस्ट आन्दोलन सकिएको निष्कर्ष निकाल्न हुँदैन : विद्या भण्डारी


२०८३ असार १४ आइतबार १७:१५ बजे

काठमाडौँ :  पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एउटा निर्वाचनको मतपरिणामकै आधारमा नेपालमा कम्युनिस्ट आन्दोलन सकिएको निष्कर्ष निकाल्न नहुने बताएकी छन् । मदन भण्डारी फाउन्डेसनद्वारा मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आयोजित विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेकी हुन् ।

पूर्वराष्ट्रपति भण्डारीले कम्युनिस्ट आन्दोलनलाई समयानुकूल परिवर्तन गर्नुपर्ने आवश्यकतामा जोड दिइन् । ‘निर्वाचनले कम्युनिस्ट दलहरूलाई गम्भीर रूपमा वैचारिक बहस गर्न अपरिहार्य बनाएको छ । एक निर्वाचनको मतपरिणामबाट कम्युनिस्ट आन्दोलनबारे निष्कर्ष निकाल्न हतारो गर्नु हुँदैन,’ उनले भनिन्, ‘तथापि, जनताले व्यक्त गरेका सन्देशहरूलाई स्वीकार गर्नु आजको आवश्यकता हो ।’

विद्यादेवी भण्डारीले नेपालको कम्युनिस्ट आन्दोलन नयाँ अवसर र चुनौतीहरूको संघारमा बताइन् ।  पूर्वराष्ट्रपति भण्डारीले भनिन्, ‘हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणामले कम्युनिस्ट शक्तिहरूका सामु आफ्ना कार्यशैली, प्राथमिकता र जनसम्बन्धलाई अझ प्रभावकारी बनाउने अवसर प्रदान गरेको छ । यस सन्देशलाई हामीले गम्भीरतापूर्वक ग्रहण गर्न आवश्यक छ । तर, कुनै एउटा निर्वाचनको परिणामका आधारमा जनताको बहुदलीय जनवादको सान्दर्भिकता वा कम्युनिस्ट आन्दोलनको भविष्यबारे हतारमा निष्कर्ष निकाल्नु उचित हुँदैन ।’

उनले बदलिँदो पुस्ताको आकांक्षालाई सम्बोधन गर्न कम्युनिस्ट आन्दोलन समयसापेक्ष परिस्कृत हुनुपर्नेमा जोड दिइन् । ‘बदलिँदो पुस्ता, रूपान्तरण हुँदै गरेको सामाजिक संरचना, प्रविधिको तीव्र विकास, युवा पुस्ताका नयाँ आकांक्षा तथा विश्वव्यापी परिवर्तनका सन्दर्भमा कम्युनिस्ट आन्दोलनले आफ्ना मूल आदर्श र सिद्धान्तलाई अक्षुण्ण राख्दै समय अनुकूल नीति, कार्यशैली र संगठनात्मक अभ्यासलाई निरन्तर परिष्कृत गर्नुपर्ने आवश्यकता अझ स्पष्ट रूपमा महसुस भएको छ,’ उनले भनिन् ।

मदन भण्डारीको भनाइलाई उद्धृत गर्दै उनले थपिन्, ‘नेपालको कम्युनिस्ट आन्दोलनको समीक्षा गर्दै मदन भण्डारीले भन्नुभएको थियो– रचनात्मकताको अभाव नै कम्युनिस्ट आन्दोलनको मूल समस्या हो । आज आन्दोलनले सामना गरिरहेका चुनौतीहरूलाई हेर्दा उहाँको यो निष्कर्ष अझ सान्दर्भिक भएको अनुभव हुन्छ ।’

पूर्वराष्ट्रपति भण्डारीले जनविश्वास आर्जन गर्न विगतको उपलब्धिको स्मरण मात्र पर्याप्त नहुने स्पष्ट पारिन् । उनले भनिन्, ‘जनताको विश्वास पुनः आर्जन गर्ने आधार सिद्धान्तको यान्त्रिक पुनरावृत्तिमा होइन, समय अनुकूल उत्तरदायी र परिणाममुखी राजनीतिक अभ्यासको विकासमा निहित हुन्छ । अब वर्तमानका जटिल प्रश्नहरूको विश्वसनीय उत्तर दिनसक्ने वैचारिक क्षमता र राजनीतिक सृजनशीलता आवश्यक छ ।’

उनले युवा पुस्ताका आकांक्षा, डिजिटल युगका चुनौती, गुणस्तरीय शिक्षा, रोजगारी, स्वास्थ्य, सामाजिक न्याय, सुशासन, उत्पादनमुखी अर्थतन्त्र तथा राष्ट्रिय आत्मनिर्भरताका विषयमा नयाँ दृष्टिकोण विकास गर्न सकेमात्र कम्युनिस्ट आन्दोलनलाई सुदृढ र लोकप्रिय बनाउन सकिने धारणा राखिन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७