‘शिक्षामा राजनीति होइन, दलीयकरण समस्या हो’ : गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शिक्षा क्षेत्रको सुधारका लागि विद्यालयलाई दलगत प्रभावबाट मुक्त गर्नुपर्ने बताएका छन्। उनले शिक्षा क्षेत्रको सबैभन्दा ठूलो समस्या दलीयकरण भएकाले त्यसबाट बाहिर निस्कन आवश्यक रहेको धारणा व्यक्त गरे।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै थापाले विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक र शिक्षक नियुक्तिसम्म दलगत प्रभावका आधारमा हुने प्रवृत्तिले शिक्षा प्रणाली कमजोर बनेको बताए।
‘गाउँमा विद्यालयको अवस्था सोध्दा व्यवस्थापन समितिको अध्यक्ष, शिक्षक र प्रधानाध्यापक हाम्रै मान्छे हुन् भन्ने जवाफ सुनिन्छ,’ उनले भने, ‘यो राजनीति होइन, दलीयकरण हो। शिक्षालाई यसबाट मुक्त गर्नुपर्छ।’
थापाले शिक्षा आफैंमा राजनीतिक विषय भए पनि त्यसलाई दलगत स्वार्थको माध्यम बनाउन नहुने बताए। समुन्नत नेपाल निर्माणका लागि शिक्षा क्षेत्रले खेल्न सक्ने भूमिकाबारे गम्भीर बहस आवश्यक रहेको उनको भनाइ थियो।
उनले मुलुकको समृद्धि, विकास र मानव संसाधन निर्माणमा शिक्षा क्षेत्रको योगदानलाई केन्द्रमा राखेर राजनीतिक वृत्तमा व्यापक छलफल हुनुपर्नेमा पनि जोड दिए।
.gif)

.png)

