रेफ्रीविरुद्ध इजिप्टको फिफामा उजुरी
एजेन्सी । अर्जेन्टिनासँग विश्वकप २०२६ को अन्तिम १६ मा ३–२ ले पराजित भएपछि इजिप्ट फुटबल संघ (इएफए) ले खेलका रेफ्री र भिडियो सहायक रेफ्री (भिएआर) टोलीलाई प्रतियोगिताबाट हटाउन फिफासमक्ष औपचारिक उजुरी दर्ता गरेको छ।
इएफएका अध्यक्ष हानी अबु रिदाले फ्रान्सेली रेफ्री फ्राँस्वा लेटेक्सिएरविरुद्ध अनुसन्धानको माग गर्दै खेलमा दोहोरो मापदण्डु अपनाइएको आरोप लगाएका छन्।
दोस्रो हाफमा इजिप्ट १-० ले अघि रहेको अवस्थामा मोस्तफा जिकोले गरेको गोल भिएआरले रद्द गरेको थियो। मिडफिल्डर मारवान अटियाले आक्रमणको सुरुवातमा अर्जेन्टिनाका लिसान्द्रो मार्टिनेजको खुट्टामा टेकेको भन्दै फाउल दिइएको थियो।
त्यसपछि इन्जुरी समयमा अर्जेन्टिनाले विजयी गोल गर्नु केही क्षणअघि मोहम्मद सलाहमाथि पेनाल्टी क्षेत्रमा फाउल भएको इजिप्टको दाबी थियो। तर उक्त घटनामा भिएआरले समीक्षा नगरेको भन्दै इजिप्टले आपत्ति जनाएको छ।
इएफएले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'रेफ्री टोलीले गरेको गम्भीर त्रुटि र दोहोरो मापदण्डका कारण इजिप्ट पराजित भयो र विश्वकपबाट बाहिरियो। त्यसैले घटनाको छानबिन गरी रेफ्री तथा सम्पूर्ण अफिसियटिङ टोलीलाई विश्वकपबाट हटाइनुपर्छ।'
इएफएले केही दृश्यहरूको समीक्षा गर्न अस्वीकार गरिएको तथा स्पष्ट त्रुटिहरू भएको आरोप लगाउँदै त्यसलाई इजिप्टविरुद्धको भेदभावसमेत भनेको छ। इजिप्टका मुख्य प्रशिक्षक होसाम हसनले पनि खेलपछि आफ्नो टोलीमाथि अन्याय भएको आरोप लगाएका थिए।
उनले भने, 'सायद उनीहरू विश्व च्याम्पियनलाई प्रतियोगितामा कायम राख्न चाहन्थे। सायद मेस्सीलाई प्रतियोगितामा अघि बढाउन चाहन्थे।'इजिप्टका फरवार्ड मोस्तफा जिकोले पनि रेफ्रीको निर्णयको आलोचना गर्दै भने, 'रेफ्री पूर्ण रूपमा अन्यायी थिए। सुरुदेखि नै हामीमाथि अन्याय भयो। यो प्रतियोगिता मिलाइएको जस्तो देखिन्छ।' अर्जेन्टिनाले अब क्वार्टरफाइनलमा स्विट्जरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।
.gif)

.png)

