ट्रम्पको चेतावनी: इरानले ममाथि हमला गर्यो भने इरानलाई पूर्ण रूपमा ध्वस्त पारिनेछ
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आफ्नो ज्यानमाथि आक्रमण गर्ने प्रयास गरे अमेरिकाले कडा सैन्य जवाफ दिने चेतावनी दिएका छन्।
आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसल मा ट्रम्पले इरानतर्फ १,००० मिसाइल तयारी अवस्थामा रहेको दाबी गर्दै आवश्यक परे थप हजारौं मिसाइल प्रहार गर्न सकिने उल्लेख गरेका छन्।
'यदि इरानले ममाथि हमला गर्यो भने इरानलाई पूर्ण रूपमा ध्वस्त पारिनेछ,' ट्रम्पले लेखेका छन्। उनले सम्भावित जवाफी कारबाहीका लागि आफूले पहिले नै आदेश दिइसकेको र अमेरिकी सेना कुनै पनि बेला कारबाही गर्न तयार रहेको दाबी पनि गरेका छन्।
सन् २०२० मा अमेरिकी ड्रोन आक्रमणमा इरानी कमाण्डर कासिम सुलेमानी मारिएपछि इरान र अमेरिकाबीचको सम्बन्ध लगातार तनावपूर्ण रहँदै आएको छ। हालै इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको अन्त्येष्टिका क्रममा केही सहभागीले ट्रम्पविरुद्ध धम्कीपूर्ण सन्देश भएका ब्यानर बोकेको घटनापछि ट्रम्पको यो प्रतिक्रिया आएको हो।
यसैबीच, इजरायली सञ्चारमाध्यमका अनुसार अमेरिकाले इजरायलमा तैनाथ रहेका १२ वटा एफ–२२ स्टेल्थ फाइटर जेट फिर्ता बोलाउन थालेको छ। उता, इरानले पनि इजरायलले पुनः आक्रमण गरे कडा जवाफ दिने चेतावनी दिएको छ।
अमेरिका–इरानबीच बढ्दो तनावका कारण मध्यपूर्वको सुरक्षा अवस्था र विश्व ऊर्जा बजारमा समेत असर पर्न सक्ने चिन्ता व्यक्त गरिएको छ।
.gif)

.png)

