सुरक्षा चुनौती बढेपछि ४ एआईजी, २ डीआईजी र ९ एसएसपी मधेशको फिल्डमा खटिए

तराई–मधेशको सुरक्षा अवस्था मूल्यांकन, समन्वय र व्यवस्थापन प्रभावकारी बनाउन १५ उच्च प्रहरी अधिकृत परिचालन


२०८३ श्रावण १५ शुक्रबार १४:३२ बजे

काठमाडौं :  तराई–मधेशमा विकसित पछिल्लो सुरक्षा अवस्थालाई मध्यनजर गर्दै प्रहरी प्रधान कार्यालयले एसएसपीदेखि एआईजी तहसम्मका १५ जना उच्च प्रहरी अधिकृतलाई विभिन्न जिल्लामा खटाएको छ ।

प्रहरी प्रधान कार्यालयका प्रवक्ता तथा डीआईजी अबिनारायण काफ्लेका अनुसार तराई–मधेश क्षेत्रमा सुरक्षा अवस्था मूल्यांकन, समन्वय र आवश्यक रणनीति निर्माणका लागि उच्च अधिकृतहरूलाई परिचालन गरिएको हो । उनीहरूले सम्बन्धित प्रदेश तथा जिल्ला प्रहरी कार्यालयसँग समन्वय गर्दै सुरक्षा व्यवस्थापनमा सहजीकरण गर्नेछन् ।

गत १० साउन राति सुनसरीको कप्तानगञ्जमा दुई समुदायबीच भएको विवादका क्रममा सुरक्षाकर्मीको गोली लागेर एक जनाको मृत्यु भएपछि तराई–मधेशका विभिन्न जिल्लामा तनाव सिर्जना भएको थियो । उक्त घटनापछि मोरङ, सुनसरी, सिरहा, धनुषालगायत जिल्लामा प्रदर्शन, आगजनी र तोडफोडका घटना भएका छन् ।

तनाव नियन्त्रणका लागि केही क्षेत्रमा कर्फ्यु लगाइएको छ भने सुरक्षा व्यवस्थापनका लागि नेपाली सेना परिचालनसमेत गरिएको छ । पछिल्लो घटनाक्रममा अहिलेसम्म तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

को कहाँ खटिए ?

  • एआईजी सिद्धिविक्रम शाह – बाँके
  • एआईजी हिमालयकुमार श्रेष्ठ – मधेश प्रदेश
  • एआईजी उमाप्रसाद चतुर्वेदी – कपिलवस्तु
  • एआईजी ईश्वर कार्की – कोशी प्रदेश र सुनसरी
  • डीआईजी दिनेशकुमार आचार्य – सिरहा
  • डीआईजी अबिनारायण काफ्ले – सप्तरी
  • एसएसपी गोपालचन्द्र भट्टराई – सर्लाही
  • एसएसपी सोमेन्द्रसिंह राठौर – पर्सा
  • एसएसपी दीपशम्शेर जबरा – रौतहट
  • एसएसपी नवराज अधिकारी – चितवन
  • एसएसपी कृष्णप्रसाद पंगेनी – महोत्तरी
  • एसएसपी होबिन्द्र बोगटी – बारा
  • एसएसपी ज्ञानेन्द्रप्रसाद फुयाँल – मोरङ
  • एसएसपी भुवनेश्वर तिवारी – धनुषा
  • एसएसपी अमरेन्द्रबहादुर सिंह – मधेश प्रदेश

प्रहरी प्रधान कार्यालयले यही अवस्थालाई ध्यानमा राख्दै थप सुरक्षा जनशक्ति तराई क्षेत्रमा केन्द्रित गरेको हो । परिचालित उच्च प्रहरी अधिकृतहरूले सुरक्षा अवस्थाको प्रत्यक्ष मूल्यांकन गर्ने, आवश्यक स्रोतसाधन परिचालन गर्ने, सूचना संकलन तथा विश्लेषण गर्ने र आवश्यकता अनुसार फिल्डमै पुगेर सुरक्षा निकायबीच समन्वय गर्ने जिम्मेवारी पाएका छन् ।

सुरक्षा योजना प्रभावकारी बनाउन तथा सम्भावित जोखिम न्यूनीकरण गर्न प्रहरीका उच्च अधिकारीहरूलाई सम्बन्धित क्षेत्रको जिम्मेवारी दिइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यसअन्तर्गत एआईजी सिद्धिविक्रम शाहलाई बाँके, एआईजी हिमालयकुमार श्रेष्ठलाई मधेश प्रदेश, एआईजी उमाप्रसाद चतुर्वेदीलाई कपिलवस्तु तथा एआईजी ईश्वर कार्कीलाई कोशी प्रदेश र सुनसरीको जिम्मेवारी दिइएको छ ।

त्यस्तै डीआईजी दिनेशकुमार आचार्यलाई सिरहा, डीआईजी अबिनारायण काफ्लेलाई सप्तरीमा खटाइएको छ । एसएसपी गोपालचन्द्र भट्टराईलाई सर्लाही, सोमेन्द्रसिंह राठौरलाई पर्सा, दीपशम्शेर जबरालाई रौतहट, नवराज अधिकारीलाई चितवन, कृष्णप्रसाद पंगेनीलाई महोत्तरी, होबिन्द्र बोगटीलाई बारा, ज्ञानेन्द्रप्रसाद फुयाँललाई मोरङ, भुवनेश्वर तिवारीलाई धनुषा र अमरेन्द्रबहादुर सिंहलाई मधेश प्रदेशमा परिचालन गरिएको छ ।

प्रहरी प्रधान कार्यालयले उच्च तहका अधिकृतहरूको प्रत्यक्ष उपस्थितिले स्थानीय सुरक्षा संयन्त्रलाई थप मजबुत बनाउने र सम्भावित अप्रिय घटनालाई समयमै नियन्त्रण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७