कांग्रेस महाधिवेशन दुई दिनपछि सर्यो
काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोह दुई दिनपछि सरेको छ।
यसअघि असोज १६ गतेका लागि तय भएको थियो। तर, उद्घाटन समारोह अब असोज १८ गते दिउँसो २ बजे काठमाडौंको खुलामञ्चमा हुने कांग्रेसले जनाएको छ।
भारी वर्षाका कारण केही निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन तथा महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया पूरा हुन नसकेको भन्दै उद्घाटन मिति सारिएको हो।
वडा, गाउँपालिका र नगरपालिका अधिवेशन सम्पन्न भइसके पनि केही क्षेत्रमा प्रदेश सभा क्षेत्रीय अधिवेशन र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन तथा महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया जारी रहेको कांग्रेसले जानकारी दिए।
पार्टीका तहगत कार्यसमिति र निर्वाचन समितिबाट प्राप्त जानकारी तथा वर्षाका कारण उत्पन्न असहज परिस्थितिलाई ध्यानमा राखेर महाधिवेशन उद्घाटन समारोह असोज १८ गते गर्ने निर्णय गरिएको कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
यसअघि कांग्रेसले १५औँ महाधिवेशन असोज १६ देखि १९ गतेसम्म गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो।
.gif)

.png)


