कुनै चमत्कार भएन भने कांग्रेस विभाजनको अन्तिम डिलमा : पूर्णबहादुर खड्का
काठमाडौं : नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कुनै चमत्कार नभए पार्टी विभाजनको अन्तिम डिलमा पुगेको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै खड्काले सभापति गगन थापाको नेतृत्वमा अघि बढिरहेको १५औँ महाधिवेशन प्रक्रियामा आफू सहभागी नभएको स्पष्ट पारेका छन्।
पार्टीको वैधानिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेकाले महाधिवेशन प्रक्रियामा सहभागी हुनु आफूलाई ‘चरम अनैतिक’ लाग्ने उनले बताएका छन्। खड्काका अनुसार विशेष महाधिवेशन र त्यसबाट निर्वाचित सभापति तथा कार्यसमितिको वैधानिकतामाथि प्रश्न उठाउँदै आफूहरू सर्वोच्च अदालत पुगेका थिए। डिभिजन बेन्चको निर्णयविरुद्ध पुनरावलोकनका लागि गएको र सर्वोच्चको पूर्ण इजलासले मुद्दा पुनरावलोकनका लागि निस्सा दिएको उनको दाबी छ। सो मुद्दा विचाराधीन रहेकै अवस्थामा महाधिवेशन प्रक्रिया अघि बढाइएको भन्दै खड्काले त्यसमा आफू सहभागी नहुने बताएका हुन्।
महाधिवेशनका प्रक्रिया रोक्न आफूहरूले सर्वोच्चमा निवेदन दिएको तर अदालतले रोक्ने आदेश नदिएको उल्लेख गर्दै उनले त्यसको परिणाम कांग्रेसका नाममा अलग–अलग दुईवटा महाधिवेशन हुने अवस्था बनेको बताएका छन्। ‘अब यदि कुनै चमत्कार भएन भने नेपाली कांग्रेस पार्टी विभाजनको अन्तिम डिलमा पुगेको अवस्था छ,’ खड्काले लेखेका छन्, ‘पार्टीका आदरणीय सबै साथीहरू, तैपनि हामी सम्भावित पार्टी विभाजनलाई रोक्न अन्तिम प्रयास गरिरहेका छौँ।’
खड्काले सर्वोच्च अदालतमा विचाराधीन पुनरावलोकनको मुद्दालाई अग्राधिकार दिएर यथाशीघ्र अन्तिम फैसला गर्न आग्रह गरेका छन्। ‘सर्वोच्चमा विचाराधीन नेपाली कांग्रेसको पुनरावलोकनको मुद्दालाई यहाँहरूको मूल्यांकनमा परिस्थितिको गम्भीरताको आकलन गर्नु भई मुद्दालाई अग्राधिकार राख्ने प्रबन्ध गर्न मिल्छ भने अन्तिम फैसला कृपया यथाशीघ्र गरिदिनुहोस्,’ उनले भनेका छन्। सर्वोच्च अदालतको अन्तिम फैसला आफूहरूलाई स्वीकार्य हुने पनि उनले बताएका छन्।
खड्काले पार्टी विभाजन भए त्यसको असर कांग्रेसमा मात्र सीमित नरहने दाबीसमेत गरेका छन्। यस्तो अवस्थामा नेपालको लोकतन्त्रमा समेत बहुआयामिक प्रभाव पर्न सक्ने उनको भनाइ छ। यसैबीच, कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गगन थापा नेतृत्वको पक्षले महाधिवेशन प्रक्रिया अघि बढाइरहेको छ भने खड्कासहितको पक्षले पार्टीको वैधानिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको भन्दै त्यसमा सहभागिता जनाउन अस्वीकार गरेको छ।
हेर्नूहोस् खड्काको विचारः
.gif)

.png)

