सञ्चार क्षेत्रलाई तर्साउन खोजियो : रास्वपा

संलग्नमाथि कारबाही गर्न सरकारलाई ध्यानाकर्षण


२०८३ असार २९ सोमबार १७:२७ बजे

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पछिल्लो समय विभिन्न सञ्चार माध्यमका कार्यालयहरू बाहिर पहिचान नखुलेका सवारी साधनहरू शंकास्पद रूपमा राखिएको घटनाको कडा शब्दमा भर्त्सना गरेको छ। प्रेस जगतलाई त्रसित र मनोवैज्ञानिक दबाबमा राख्ने उद्देश्यले गरिएका यस्ता गतिविधिहरू लोकतान्त्रिक मूल्य-मान्यता विपरीत रहेको रास्वपाको ठहर छ।

रास्वपाका महामन्त्री विपिन आचार्यले एक विज्ञप्ति जारी गर्दै यस घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। ‘प्रेस क्षेत्रलाई त्रसित बनाउने उद्देश्यबाट प्रेरित यस्ता र अन्य जुन कुनै कदमहरूको राष्ट्रिय स्वतन्त्र पार्टी भर्त्सना गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘यी घटनाहरूको तत्काल, निष्पक्ष र सत्यतथ्य छानबिन गरी सम्पूर्ण सञ्चारमाध्यमको भौतिक तथा मनोवैज्ञानिक सुरक्षा सुनिश्चित गर्न र यस्ता शंकास्पद गतिविधिमा संलग्न जोसुकै भए पनि उनीहरूको तत्काल पहिचान गरी कानुनबमोजिम गर्न नेपाल सरकार, गृह मन्त्रालय र सम्बन्धित सुरक्षा निकायको गम्भीर ध्यानाकर्षण गराउँदछौँ।’

रास्वपाले नेपाल सरकार, गृह मन्त्रालय र सम्बन्धित सुरक्षा निकायसँग यस घटनाको तत्काल, निष्पक्ष र सत्यतथ्य छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्न माग गरेको छ। साथै, सञ्चार गृहहरूको भौतिक र मनोवैज्ञानिक सुरक्षा सुनिश्चित गर्न पनि पार्टीले सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ।

राज्यको चौथो अंगका रूपमा स्थापित आमसञ्चार माध्यम र सञ्चारकर्मीहरूले निर्भीक रूपमा कार्य गर्ने वातावरणमाथि धावा बोल्ने वा उनीहरूलाई मनोवैज्ञानिक दबाबमा राख्ने आशयले गरिएका यस्ता शंकास्पद र रहस्यमय गतिविधि लोकतान्त्रिक मूल्य-मान्यताका ठाडो उल्लंघन भएको पनि महामन्त्री आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

‘एक लोकतान्त्रिक, जिम्मेवार र विधिको शासनमा विश्वास गर्ने राजनीतिक दलको हैसियतले रास्वपा सदैव पूर्ण प्रेस स्वतन्त्रता, नागरिकको सुसूचित हुन पाउने मौलिक अधिकार र स्वतन्त्र पत्रकारिताको पक्षमा दृढतापूर्वक उभिएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘कुनै पनि बहानामा सूचना तथा सञ्चार स्वतन्त्रता हनन गर्दै सञ्चार गृहहरूमा त्रासको वातावरण सिर्जना गर्ने र चौथो अंगलाई संकुचित पार्न खोज्ने जुनसुकै प्रवृत्तिका अवाञ्छित क्रियाकलापहरू राष्ट्रिय स्वतन्त्र पार्टीलाई किमार्थ स्वीकार्य छैनन् भन्ने स्पष्ट पार्न चाहन्छौं।’

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७