सरकारलाई मनिष झाको प्रश्न, ‘यस्तो बचपना देखाएर राजकाज चल्छ ?’
काठमाडाैं : काठमाडौँका विभिन्न सञ्चारगृह र सार्वजनिक स्थानमा सोमबार बिहान रहस्यमय ढङ्गले सवारीसाधन पार्किङ गरी अवरोध पुर्याइएको घटनाप्रति सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता मनिष झाले गम्भीर आपत्ति जनाएका छन्।
प्रतिनिधिसभा सदस्य रहेका झाले बुधबार बिहान सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै सो कार्य राज्य पक्षबाटै भएको स्वीकार गरेका छन्। उनले राज्य संयन्त्र नै नागरिकलाई आतंकित बनाउने कार्यमा संलग्न हुनु निन्दनीय रहेको बताएका छन्।
‘सञ्चारगृह र अन्य स्थानमा गाडी राखेर अवरोध गर्ने काम गलत हो। यसमा जो संलग्न छ, अनुसन्धान र कारबाही हुनुपर्छ’, उनले लेखेका छन्, ‘राज्यले नागरिकको चिन्ता निराकरण गर्ने हो। राज्यले आफैँ थप आतंकित बनाउने हैन। यस्तो बचपना देखाएर राजकाज चल्छ ? के यस्तै स्तरहीन र गलत प्रयोग गर्न जेनजी सहादत भएको हो? यस किसिमको कामप्रति घोर आपत्ति छ।’
सोमबार कान्तिपुर पब्लिकेसन, अनलाइनखबर, हिमालयन टेलिभिजन, कांग्रेस महामन्त्री गगन थापाको निवास र भाटभटेनी अगाडि शंकास्पद रूपमा पार्किङ गरिएका सवारीसाधन फेला परेका थिए। ट्राफिक प्रहरीले क्रेनको सहायताले ती गाडीहरू उठाएर जरिवाना गराई सम्बन्धित व्यक्तिहरूको जिम्मा लगाएको छ। घटनामा संलग्न केही सवारीसाधन रास्वपा नेताहरूसँग सम्बन्धित रहेको पाइएपछि यस विषयले राजनीतिक वृत्तमा थप चर्चा पाएको छ।
.gif)

.png)

