गगन थापालाई कृष्ण सिटौलाको आग्रह: कांग्रेसलाई एक बनाउने आँट गर्नुस्


२०८३ श्रावण ६ बुधबार १७:१२ बजे

काठमाडौं:  नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले पार्टीका सभापति गगन थापालाई कुनै छलकपट नगरी नेपाली कांग्रेसलाई एकताबद्ध बनाउने नेतृत्वदायी भूमिका निर्वाह गर्न आग्रह गरेका छन्।

बीपी कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा काठमाडौंस्थित प्रज्ञा भवनमा संस्थापन इतर पक्षले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै सिटौलाले थापालाई खुला रूपमा पार्टी एकताको पहल गर्न आह्वान गरे।

'अझै पनि भन्न चाहन्छौँ, तपाईं गगन थापा साहसी बन्नुस्, अकपट बन्नुस्। असंकोच भएर, खुला छाती राखेर ‘मैले कांग्रेस जोडेँ’ भन्ने आँट गर्नुस्,' सिटौलाले भने, 'तपाईंलाई जसले रोक्छ, त्यसलाई धकेल्नुस्। तपाईंको बाटो छेक्नेलाई अघि आउन नदिनुस्। यति आँट छैन तपाईंमा ?'

सिटौलाले संस्थापन इतर पक्षले कुनै पनि प्रकारको छलछाम नगरेको दाबी गर्दै आगामी रणनीतिसमेत खुला रूपमा अघि बढाइने बताए। 'हामी छलछाम गरिरहेका छैनौँ। यही महिनाको अन्त्यसम्म एउटा राष्ट्रिय भेला हुन्छ। त्यसबाट नयाँ कार्यदिशा तय हुन्छ। त्यो कार्यदिशा के हो भन्ने सबैले बुझ्नेछन्,' उनले भने।

उनले आफूहरूले सबै कुरा स्पष्ट रूपमा राख्दै आएको उल्लेख गर्दै पार्टीभित्रको एकता र नयाँ राजनीतिक दिशाका लागि इमानदारीपूर्वक पहल गरिरहेको बताए।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७