अमेरिका-इरान तनाव फेरि चर्कियो: अमेरिकी सेनाद्वारा इरानमा भिषण सैन्य कारबाही
लण्डन : अमेरिकी सेनाले मंगलबार आफ्ना सैन्य अखडामाथि भएको क्षेप्यास्त्र आक्रमणको जवाफ दिँदै इरानमा गरिएको ठूलो सैन्य कारबाही सम्पन्न भएको जनाएको छ। अमेरिकी सेनाको मध्यपूर्व कमान्डले इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सका दर्जनौँ सैन्य तथा रणनीतिक केन्द्रलाई लक्षित गरी आक्रमण गरिएको जनाएको छ।
यो कारबाही जोर्डनस्थित अमेरिकी सैन्य अखडा र होर्मुज जलडमरूमध्यमा रहेका जहाजमाथि इरानले गरेको आक्रमणको जवाफ भएको अमेरिकी पक्षको भनाइ छ।
इरानी सरकारी सञ्चारमाध्यमका अनुसार पछिल्लो अमेरिकी आक्रमणमा क्युश्म टापुमा दुई वर्षका बालकसहित तीन जनाको मृत्यु भएको छ। इरानका दक्षिणी र पश्चिमी क्षेत्रमा रहेका अन्य स्थानहरूमा समेत आक्रमण भएको जनाइएको छ।
पछिल्लो घटनाक्रमसँगै अमेरिका–इरानबीचको द्वन्द्व थप विस्तार भएको छ। यसै क्रममा अमेरिकाले पहिलोपटक सार्वजनिक रूपमा साउदी अरेबियासँग मिलेर इराकमा रहेका इरान समर्थित सशस्त्र समूहका अखडामाथि संयुक्त आक्रमण गरेको जनाएको छ।
अप्रिलमा भएको युद्धविराम असफल भएपछि जुन महिनादेखि अमेरिका र इरानबीच लगातार आक्रमण र प्रतिआक्रमण हुँदै आएको छ। अमेरिकाले इरानी बन्दरगाहमा नाकाबन्दी लगाउँदै सैन्य संरचनामाथि हवाई आक्रमण गरेको छ भने इरानले मध्यपूर्वका विभिन्न क्षेत्रमा रहेका अमेरिकी सैन्य अखडा तथा सम्पत्तिमाथि क्षेप्यास्त्र र ड्रोनमार्फत आक्रमण गरेको छ। साथै, विश्वकै महत्वपूर्ण व्यापारिक समुद्री मार्गमध्ये एक होर्मुज जलडमरूमध्यमा रहेका जहाजहरूलाई समेत इरानले निशाना बनाएको छ।
होर्मुज जलडमरूमध्य फारसको खाडी र अरब सागर जोड्ने महत्वपूर्ण समुद्री मार्ग हो, जहाँबाट विश्वको ठूलो हिस्सा ऊर्जा आपूर्ति हुने गर्छ। अमेरिकी सञ्चारमाध्यमका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी रक्षामन्त्री राजकुमार खालिद बिन सलमानसँग भेट गरेका थिए। भेटका क्रममा साउदी अरेबियाले अमेरिका–इरान तनाव घटाउन चाहेको सन्देश दिएको बताइएको छ।
साउदी अरेबियाको चुनौती
मध्यपूर्वको शक्ति संघर्षमा महत्वपूर्ण भूमिका खेल्दै आएको साउदी अरेबिया अहिले कठिन अवस्थामा छ। एकातर्फ उसले अमेरिकासँगको रणनीतिक सम्बन्ध कायम राख्नुपर्ने अवस्था छ भने अर्कोतर्फ इरानसँग प्रत्यक्ष सैन्य टकरावबाट बच्नुपर्ने दबाब छ।
यसैबीच, इजिप्ट सरकारले बुधबार एउटा बन्दरगाहमा लागेको आगलागी ड्रोन आक्रमणका कारण भएको जनाएको छ। अमेरिकाको सहयोगी राष्ट्र इजिप्ट यसअघि अमेरिका–इरान द्वन्द्वको प्रत्यक्ष निशानामा परेको थिएन।
अमेरिकी सेनाले बुधबार राति सुरु गरेको आक्रमण करिब एक घण्टासम्म चलेको जनाएको छ। अमेरिकी सेनाका अनुसार यो कारबाही मध्यपूर्वमा रहेका अमेरिकी फौजमाथि भएको इरानी आक्रमणको जवाफी कदम थियो। अमेरिकी पक्षले इरानले प्रहार गरेका सबै क्षेप्यास्त्र रोकिएको दाबी गरेको छ।
अमेरिकाले इरानका, सैन्य कमान्ड केन्द्र, क्षेप्यास्त्र तथा ड्रोन सञ्चालन गर्ने स्थान, तटीय निगरानी केन्द्र, समुद्री रक्षा संरचना लाई लक्षित गरेको जनाएको छ। इरानी सञ्चारमाध्यमका अनुसार तेल उद्योगका लागि महत्वपूर्ण मानिने क्युश्म र अबादान क्षेत्रमा समेत आक्रमण भएको छ।
इरानी समाचार संस्था फार्सले होर्मोजगान मेडिकल विश्वविद्यालयलाई उद्धृत गर्दै क्युश्म टापुको चह ताङ्गु क्षेत्रमा रहेको एक घरमा भएको अमेरिकी आक्रमणमा एउटै परिवारका तीन सदस्य, ‘बुबा, आमा र दुई वर्षका बालक’ को मृत्यु भएको जनाएको छ।
क्युश्म टापुका एक स्थानीय बासिन्दाले सञ्चारमाध्यमसँग कुरा गर्दै अवस्था झन् खराब हुँदै गएको बताएका छन्। उनले भने, ‘यहाँको अवस्था दिनप्रतिदिन खतरनाक बन्दै गएको छ। इन्टरनेट सेवा अवरुद्ध छ र विद्युत् आपूर्तिमा पनि समस्या भइरहेको छ।’ उनले थपे, ‘बिहानैदेखि ठूलो विस्फोटको आवाज सुनिएको छ। हामी निकै असहाय अवस्थामा छौँ।’
जोर्डनमाथि इरानी क्षेप्यास्त्र
यसैबीच, जोर्डनको सेनाले आफ्नो हवाई रक्षा प्रणालीले आफ्नो भूभागतर्फ प्रहार गरिएका पाँचवटा इरानी क्षेप्यास्त्र नष्ट गरेको जनाएको छ।
इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सले मंगलबार जोर्डनस्थित अमेरिकी हवाई अखडा र कमान्ड केन्द्रलाई लक्षित गरी आक्रमण गरेको जनाएको थियो।
इरानले उक्त आक्रमणलाई ‘अमेरिकी आक्रामक गतिविधिको जवाफ’ भनेको छ। त्यसैगरी, इरानी नौसेनाले होर्मुज जलडमरूमध्यमा रहेका तीनवटा तेल ट्यांकरमाथि आक्रमण गरेको जनाएको छ। इरानका अनुसार ती जहाजहरूले चेतावनी बेवास्ता गर्दै असुरक्षित मार्ग प्रयोग गरेका थिए।
इराकमा अमेरिका–साउदी संयुक्त कारबाही
अमेरिकी सेनाले मंगलबार साउदी अरेबियासँग मिलेर इराकको पूर्वी क्षेत्रमा रहेका इरान समर्थित समूहका हतियार तथा रसद केन्द्रमाथि आक्रमण गरेको जनाएको छ।
अमेरिकाका अनुसार पछिल्लो ७२ घण्टामा इरान समर्थित समूहले अमेरिकी लक्ष्यमा ३० भन्दा बढी ड्रोन आक्रमण गरेका थिए। इरान समर्थित शिया समूहको प्रभाव रहेको इराकको अर्धसैनिक संगठनले अमेरिकी–साउदी आक्रमणमा आफ्ना कम्तीमा २० सदस्य मारिएको जनाएको छ।
इराकी राष्ट्रपतिले उक्त आक्रमणको निन्दा गर्दै यसलाई ‘इराकको सार्वभौमिकतामाथिको अस्वीकार्य हस्तक्षेप’ भनेका छन्। तर अमेरिकी राष्ट्रपति ट्रम्पले उक्त कारबाही इराक सरकारसँग समन्वय गरेर गरिएको दाबी गरेका छन्।
दशकौँ पुरानो क्षेत्रीय प्रतिस्पर्धा
साउदी अरेबिया र इरानबीच मध्यपूर्वमा प्रभाव विस्तारका लागि दशकौँदेखि प्रतिस्पर्धा हुँदै आएको छ।
सुन्नी मुस्लिम समुदायको प्रमुख शक्तिका रूपमा रहेको साउदी अरेबिया र शिया मुस्लिम समुदायको सबैभन्दा ठूलो राष्ट्र इरानबीचको राजनीतिक तथा सैन्य प्रतिस्पर्धाले अहिलेको क्षेत्रीय तनावलाई थप गहिरो बनाएको छ।
.gif)

.png)

